विराटनगर जेठ, ६– यतिवेला प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको राष्ट्रिय जागरण अभियान चलिरहेको छ । देशव्यापी रुपमा चलेको जागरण अभियानमा कार्यकर्ताले पार्टी नेतृत्वप्रति आक्रोश समेत व्यक्त गरेका छन् । आइतबार मोरङको उर्लाबारीमा आयोजित जागरण अभियानमा कार्यकर्ताले पार्टी नेतृत्वप्रति तीव्र आक्रोश व्यक्त गरेका हुन् ।
कांग्रेस उर्लाबारी नगर समितिले आयोजना गरेको कार्यक्रममा सहभागी कार्यकर्ताले प्रदेश र सङ्घीय निर्वाचनको पराजय र त्यसपछि प्रमुख प्रतिपक्षीको भूमिका निर्वाह गर्न नसकेको भन्दै नेतृत्वप्रति आक्रोश व्यक्त गरेका हुन् । कांग्रेसका पूर्वजिल्ला सदस्य राधाकृष्ण पोख्रेलले कांग्रेसभित्र ६०/४० को भागबण्डा के हो ? भन्दै पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई प्रश्न गरेका थिए ।
आक्रोशित रुपमा प्रस्तुत भएका उनले सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता शेखर कोइराला, नेता कृष्णप्रसाद सिटौलाको फरक–फरक गुट रहेसम्म कांग्रेसले आगामी निर्वाचनमा पनि विजयी हासिल गर्न नसक्ने विचार व्यक्त गरे । गाउँगाउँसम्म कांग्ेसको नेतृत्वप्रति कार्यकर्ता निराश रहेको बताउँदै उनले यस्तै अवस्थामा पार्टी कसरी बलियो हुन्छ ? भन्दै प्रश्न गरे । उर्लाबारी–७ निवासी जयधर्म आचार्यले कांग्रेसभित्र अहिले स्नेह र मित्रता नरहेको बताए ।
टङ्कनाथ दाहालले निर्वाचनको टिकट वितरण प्रणालीमा एकलौटी हुँदा कांग्रेसले पराजय बेहोर्नुपरेको बताए । नेपाल महिला सङ्घका मोरङ क्षेत्र नं १ का सभापति गोमा नेपालले कांग्रेसका नेता कार्यकर्तामा आफू आफूमा हार्दिकता हराउँदै गएकोमा चिन्ता व्यक्त गरे। सोमप्रसाद तिम्सिनाले प्रमुख प्रतिपक्षीको भूमिका अहिले नेपाली मिडियाले गर्नुपर्ने अवस्था आएको धारणा राखे ।
यस्तै सुरेश खड्का, सुरेश राई, नारायणप्रसाद आचार्य, भीम थापा, इन्द्रकुमार ओली, विमल निरौला, जनक खड्का, गीता खतिवडालगायतका पार्टी कार्यकर्ताले पनि पार्टी गुटउपगुट र चुनावी टिकट वितरण प्रणाली निष्पक्ष नहुँदा पार्टीले पराजय व्यहोर्नुपरेको भन्दै आक्रोश व्यक्त गर्नुभएको थियो । कार्यक्रममा कांग्रेसका क्षेत्रीय सभापति एवं उर्लाबारी नगरपालिका प्रमुख खड्ग फागोले काङ्ग्रेसले सक्षम नेतृत्व गर्न नसकेको बताए।
निर्वाचनमा व्यहोरेको हारपछि बल्ल कांग्रेसको राष्ट्रव्यापी कार्यक्रम शुरु भएको भन्दै उनले कार्यकर्ता उत्साहित नभएसम्म पार्टीलाई सङ्गठित बनाउन नसकिने बताए। नेता सिटौलाले सङ्घ र प्रदेशको निर्वाचनमा उम्मेदवार चयन गर्न पार्टी नेतृत्व चुकेको स्वीकारे । उम्मेदवार छनोट निष्पक्ष हुन नसकेकै कारण कांग्रेस पराजित भएको उनको भनाइ थियो । बिना सङ्गठन पार्टी चलायनमान नहुने बताउँदै नेता सिटौलाले तुरन्तै १४ औँ महाधिवेशन गर्नुपर्ने अथवा अन्तरिम व्यवस्था गरेर भए पनि पार्टीलाई सङ्घीय संरचनामा लैजान आवश्यक रहेको बताए ।