भक्तपुर जेठ, ६–
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले सिंहदरबारको अधिकारमात्र नभएर भ्रष्टाचार पनि गाउँगाउँमा पुगेको बताएका छन् । सोमबार रफत सञ्चार क्लबमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष बिजुक्छेंले शितल निवास, बालुवाटार र सिंहदरबार भ्रष्टाचारको मुख्य अखडा भएको दावी गरे । ओली र प्रचण्डको पूँजीवादी ब्यवस्थाले ब्यक्ति धनी हुने प्रतिप्रस्र्धाकै कारण सिंहदरबार, बालुवाटार र शितल निवासमा निरन्तर भ्रष्टाचार भइरहेको उनको भनाइ थियो । उनले प्रचण्ड भ्रष्टचारीको नायक भएको आरोप समेत लगाएका हुन् ।
प्रचण्डले ५०औं विवाह उत्सव पप्पु कन्सट्रक्सनको पैसाले मनाएको उनको आरोप थियो । अध्यक्ष बिजुक्छेंले प्रचण्डले पप्पुको पैसाले तारे होटलबाट मगाएका भोज खुवाएको पनि आरोप लगाए ।
उनले वर्तमान सरकार नामको मात्र कम्युनिसट सरकार भएको भन्दै उनले सरकारको आचरणलाई नियाल्दा कम्युनिस्ट भन्न नसिकिने बताए ।
अर्को प्रसंगमा वर्तमान सरकारले संसदमा दर्ता गरेको मिडिया काउन्सिल बिधेयक सरोकारवालाहरुसँग परामर्श नगरी एकोहोरो रुपमा ल्याउनु गलत भएको बताए । यसले नागरिकको अभिब्यक्ति स्वतन्त्रता कुन्ठित गर्ने अध्यक्ष विजुक्छेले बताए ।