जेठ १३ गते विप्लव नेकपाद्वारा नेपाल बन्दको घोषणा(विज्ञप्तिसहित)



काठमाडौं जेठ, ९–
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जेठ १३ गते नेपाल बन्दको घोषणा गरेको छ । पार्टी महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले बुधबार एक विज्ञप्ति जारी गर्दै युवा संगठनका तीर्थराज घिमिरेलाई प्रहरीले गिरफ्तार गरी हत्या गरेको विरोधमा नेपाल बन्दको आह्वान गरेको बताएका हुन् । विप्लवले विज्ञप्तिमार्फत जेठ १३ गते नेपाल बन्दसहितको चरणबद्ध संघर्षका कार्यक्रमहरु घोषणा गरेका छन् ।

मंगलबार सांगठनिक कामको सिलसिलामा भोजपुर र खोटाङको सीमानामा पर्ने मैयुमको धोत्रेमा युवा संगठनका तीर्थराज घिमिरे राजुलाई सरकारको ठाडो आदेशमा सुरक्षा फौजले गिरफ्तार गरी दोहोरो भीडन्तको नाममा हत्या गरेकोप्रति महासचिव विप्लवले आपत्ति जनाएका छन् ।

उनले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘केपी ओलीको सामाजिक फाँसीवादी सरकारका विरुद्ध सबै क्षेत्रबाट जनआक्रोश देशव्यापी बढिरहेको छ, भने यही अवस्थामा हाम्रो पार्टीप्रति जनताको आकर्षण, विश्वास र भरोसा बढ्दै गएको सर्वविधितै छ । हाम्रा नेता र कार्यकर्ताको हत्या र दमनको अभियान चलाउँदै जनतामा पैदा भएको आक्रोसलाई न्युनिकरण गर्दै आफ्नो अक्षमता लुकाउन, सामान्य राजनैतिक कार्यक्रममा हिडिरहेका युवा संगठनको कार्यकर्ता कमरेड तीर्थ घिमिरेलाई नियन्त्रणमा लिएर भीडन्तको झुठो नाटक रचि निर्ममरुपमा हत्या गरिनुले यो सरकारको फाँसीवादी अनुहार नाङ्गिएको मात्र होइन कि यो सरकारले हत्याको सहारा लिएर जनमुक्ति अभियानलाई रोक्ने दुस्साहास गरिराखेको छ । उनीहरुले यस्तो दुस्सपना नदेखे हुन्छ ।’

हत्याको साहारा लिएर कुनै मुक्ति अभियान रोकिएको छैन । केपी सरकारले बुझ्न जरुरी छ कि उसले गरेको जघन्य हत्याको बदला जनताले उचित समयमा लिने नै छन् । केपी—पीके सरकारले हाम्रो पार्टीमाथि लगाएको प्रतिबन्ध, गिरफ्तारी, दमन, चरम यातनाका साथै हत्यासम्म उत्रिएर देशलाई योजनाबद्ध तरिकाले गृहयुद्धमा धकेल्ने कुचेस्टा गरिराखेको छ । केपी सरकारको यस्तो निकृष्ट हर्कतको सबै मानवअधिकार कर्मी, नागरिक समाज, पत्रकारले डटेर विरोध गर्नुका साथै कमरेड तीथराज घिमिरेको हत्या घटनाको सत्यतथ्य छानविन गरी सार्वजनिक गर्न विज्ञप्तिमार्फत जोडदार माग गरेको छ ।

जनघाती, राष्ट्रघाती, भ्रष्टचारी केपी—पीके सरकारले चलाएको हत्या हिंसाका विरुद्ध हाम्रो पार्टीले प्रतिरोध गर्नुको विकल्प नरहेको अवस्थामा तत्कालकालागि तपसिलको संघर्षका कार्यक्रम घोषणा गरिएको छ । उक्त कार्यक्रमलाई उद्योग व्यावसायी, यातायात कर्मी, शिक्षण संस्थान लगायतका सबैले सहयोग र ऐक्यबद्धता जाहेर गर्नुका साथै सहयोग र समर्थन गर्न हार्दिक अपिलसमेत विज्ञप्तिमार्फत गरेको छ ।

प्रकाशित मिति : जेष्ठ ९, २०७६ बिहिबार  ६ : ०९ बजे