मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मिडिया काउन्सिलसम्बन्धी विधेयकको विपक्षमा उभिए वामदेव गौतम



काठमाडौं जेठ, ९–
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य वामदेव गौतमले नेपाल सरकार मन्त्रिपरिषद्बाट पारित भई राष्ट्रियसभा सचिवालयमा दर्तासमेत गराइएको मिडिया काउन्सिलसम्बन्धी विधेयकप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएका छन् । नेता गौतमले बिहिबार एक विज्ञप्ति जारी गर्दै विधेयकका कतिपय विवादास्पद प्रावधानप्रति आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएका हुन् । उनले विज्ञप्तिमा भनेका छन्, ‘उक्त विधेयकका केही प्रावधान नेपालको संविधानको अक्षर र भावनाअनुरुप बनाउनुपर्ने आवश्यकता मैले देखेको छु । सरकार, राजनीतिक पार्टी र प्रेस सबै मर्यादित र अनुशासित हुनुपर्दछ भन्ने विचारसँग म पूर्ण सहमत छु ।’ तर, समाचार लेखेकै आधारमा पत्रकारलाई दश–दश लाख रुपैयाँसम्म जरिवाना गर्नेजस्ता कठोर प्रावधान उचित नभएको नेता गौतमको भनाइ छ । उनले भनेका छन्, ‘यद्यपि, समय समयमा पेशाको मर्यादा र भावना कुल्चिएर गरिने पत्रकारिता (पीत पत्रकारिता) बाट मैँ पनि शिकार हुँदै आएको छु ।’
उनले स्वतन्त्र प्रेस र व्यवसायिक पत्रकारिता लोकतन्त्रका खम्बा भएको भन्दै बोल्न नसक्नेहरुका प्रतिनिधि तथा समाजका पहरेदार र ऐना पनि स्वतन्त्र पत्रकार हुन् भनी विज्ञप्तिमा उल्लेख गरेका छन् । नेता गौतमले प्रेस, व्यवसायिक पत्रकार र सञ्चारकर्मीहरुलाई स्वतन्त्र, निष्पक्ष, निर्भिक एवं सुरक्षित वातावरणमा काम गर्ने अवस्था राज्यले निर्माण गर्नुपर्नेमा जोड दिएका छन् । उनले लेखेका छन्, ‘तसर्थ, हाल राष्ट्रिय सभा सचिवायलयमा रहेको उक्त विधेयकका विवादास्पद प्रावधानहरु सञ्चार क्षेत्रका जिम्मेवार एवं सरोकारवालासंग छलफल गरि टुंगो लगाउन र अहिलेकै अवस्थामा अघि नबढाउन म नेपाल सरकार, सम्बन्धित सरकारी निकायलगायत सम्बन्धित सबैमा आग्रह गर्दछु ।’ त्यस्तै, उनले कुनै पनि व्यक्तिको चरित्र हत्या हुने, बदलाको भावनाले परिचालित हुने र राष्ट्रिय हितलाई वेवास्ता गर्ने क्रियाकलाप सञ्चार क्षेत्रमा प्रकट हुन नदिन सबै जिम्मेवार सञ्चारकर्मीहरुलाई आग्रह समेत गरेका छन् ।

प्रकाशित मिति : ९ जेष्ठ २०७६, बिहिबार  ६ : ३८ बजे