मिडिया काउन्सिल विधेयक कुनै पनि हालतमा पारित हुँदैनः नारायाणकाजी श्रेष्ठ



काठमाडौं जेठ, १०–
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठ सरकारले ल्याएको मिडिया काउन्सिल विधेयक विरुद्ध उभिएका छन् । सचिवालय सदस्य समेत रहेका श्रेष्ठले विधेयक पारित नहुने ठोकुवा गरेका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रवक्ता श्रेष्ठले यथास्थितिमा मिडिया काउन्सिल विधेयक पारित नहुने दावी गरेका हुन् ।

‘अहिले जुन विधेयक आएको छ म दावीका साथ भन्छु, यथास्थितिमा यो पारित हुँदैन,’ उनले भने , ‘विधेयकमा परिमार्जन हुन्छ।’ नेता श्रेष्ठले प्रेसलाई कुण्ठित गर्ने कुनै पनि प्रावधान राखेर विधेयक पारित हुँदैन ।

विधेयकबारे व्यापक छलफल गरिनुपर्ने उनले बताए। विधेयकमा रहेका दुईवटा प्रावधान हटाउनुपर्ने पनि उनको भनाइ छ। ‘विशेषगरी सरकारी कर्मचारीको प्रतिनिधित्व बढी हुने गरी व्यवस्था गरिने छैन,’ उनले भने, ‘यसबारे छलफल हुन्छ। न्यायाधीश पनि आफैं हुने भन्ने हुँदैन। यो विधेयक परिमार्जन हुन्छ भन्ने मलाई विश्वास छ।’ यसअघि नेकपाका नेता तथा सचिवालय सदस्य वामदेव गौतमले पनि बिहिबार एक विज्ञप्ति जारी गरी विेधेयकप्रति असन्तुष्टि जनाएका थिए ।

सरकारले सदनमा वैशाख २६ गते मिडिया काउन्सिल विधेयक दर्ता गरेपछि नेपाल पत्रकार महासंघ, नेपाल प्रेश युनियन, प्रेस संगठन नेपाल, २१ जना सम्पादकहरुले विधेयक फिर्ता लिएर छलफल गर्न आग्रह गर्दै आएका छन्।

प्रकाशित मिति : १० जेष्ठ २०७६, शुक्रबार  ९ : ०९ बजे