काठमाडौं जेठ, १२–
कांग्रेस नेता प्रकाशमान सिंहले सरकारको गलत रवैयाप्रति सजग रही निरन्तर खबरदारी गरिरहन आफ्ना कार्यकर्तालाई निर्देशन दिएका छन् । नेता सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीका बोली र काम गराई संविधानको मर्मविपरित रहेको भन्दै त्यसबाट संवैधानिक संकट आउने सक्ने खतरा रहेको समेत बताएका हुन् ।
आइतबार काठमाडौं क्षेत्र नम्बर १ मा राष्ट्रिय जागरण अभियान अन्तर्गत कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले वर्तमान सरकार संघीयता असफल बनाउन क्रियाशील रहेको दावी गरे ।
पूर्वमहामन्त्री समेत रहेका सिंहले भने, ‘प्रधानमन्त्रीमा अंहकार र दम्भ बढेको छ । संविधान केही होइन, अब म जे बोल्छु त्यही नै सबैले मान्नुपर्छ भने जस्तोगरी प्रस्तुत हुनु अशोभनीय छ ।’ उनले दम्भ र अहंकार त्यागेर संविधानको पालना गर्न सरकारलाई सचेत समेत गराए ।
प्रधानमन्त्री ओलीले आफूलाई नसच्याए जनतासँगको भावनात्मक सम्बन्ध टुट्ने र अहंकार पनि अन्त हुने उनले चेतावनीसमेत दिए । जनअपेक्षा धेरै भए पनि वर्तमान सरकार भाषामा मात्र सीमित रहेको र कान्डै कान्डमा मुछिएको भन्दै उनले अहिलेको सरकारबाट कुनै आश गर्न नसकिने बताए ।
कांग्रेसको कार्यकर्ता हुँ भन्ने, तर अनुशासनमा नबस्ने, कुनै नेता विशेषको बनेर पार्टीभित्र असहयोग गर्नेहरुलाई ठेगान नलगाउँदासम्म कांग्रेस बलियो हुन नसक्ने नेता सिंहको तर्क थियो ।
राजधानीबासीको सबैभन्दा चासो र सरोकार जोडिएको मेलम्ची खानेपानीको काममा भ्रष्टाचार भएका कुराहरु सार्वजनिक भइरहेकाले यो दुःखद भएको बताए । ‘मन्त्री र सचिवले ठेकेदार कम्पनीसँग पैसा मागेकाले ठेकदार कम्पनीले हात झिकेको कुरा आइरहेको छ । यो अत्यन्त दुःखद हो,’ उनले भने ।
भ्रष्टाचारका मुद्दाहरुमा निष्पक्ष ढंगले छानबिन गरेर दोषीलाई दन्डित गर्न समेत सरकारले आनाकानी गरिरहेको उनले बताए । भ्रष्टाचार गर्दिनँ भन्ने नारा जप्ने, तर ठूला भ्रष्टाचारका मुद्दाहरु ओझेलमा पार्दै जाने काम अहिलेको सरकारले गरेको उनको भनाइ छ ।
पद ओगटेका व्यक्तिहरुले पार्टी र संगठनको काम झारा टारेजस्तो गरी गरिरहेको उनको भनाइ थियो । उनले भने, ‘कांग्रेसको कार्यकर्ता हुँ भन्ने, तर अनुशासनमा नबस्ने, कुनै नेता विशेषको बनेर पार्टीभित्र असहयोग गर्नेहरुलाई ठेगान नलगाउँदासम्म कांग्रेस बलियो हुन सक्दैन ।’










