काठमाडौं जेठ, १२–
राजधानीमा विस्फोटमा परी मृत्यु हुनेको संख्या चार पुगेको छ। अन्य घाइते ६ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
प्रहरीका अनुसार सुकेधारा विस्फोटका घाइतेको ओम असप्तालमा उपचारका क्रममा मृत्यु भएको हो । अन्य चार घाइतेको भने अस्पतालमा उपचार भइरहेको छ ।
त्यस्तै, अनामनगरको घट्टेकुलोमा भएको विस्फोटमा घाइते भएका एकजनाको ट्रमा सेन्टरमा उपचार भइरहेको छ। महाराजगन्जका डीएसपी फडिन्द्र प्रसाईंका अनुसार सुकेधाराको एक शैलुनमा भएको विस्फोटमा दुईजनाको घटनास्थलमै र अर्को एकको उपचारको क्रममा मृत्यु भएको छ ।
घटनास्थलतमा खटिएका एक प्रहरी अधिकारीका अनुसार शैलुनभित्र सिलिन्डर विस्फोट भएको अवस्थामा नदेखिएकाले अरु नै बस्तु पड्किएको शंकामा अनुसन्धान भइरहेको छ।
घट्टेकुलोस्थित एक घरमा भएको विस्फोटमा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्। सिंहदरवार वृत्तका डीएसपी काजीकुमार आचार्यका अनुसार उक्त विस्फोटमा एकजना घाइते भएका छन्। घाइते रवीन केसीको ट्रमा सेन्टरमा उपचार भइरहेको छ।
घट्टेकुलोमा जुन घरमा विस्फोट भयो, त्यहाँ विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको पर्चा भेटिएको प्रहरीले बताएको छ। महानगरीय प्रहरी परिसर टेकुका एसपी अशोक सिंहले घटनास्थलबाट दिएको जानकारी अनुसार विस्फोट भएका स्थानमा विप्लवको पार्टीका पर्चा, पम्पलेट फेला परेका छन्। पर्चामा ‘नेपाल बन्द सफल पारौँ’लगायतका नारा लेखिएका छन्।
अहिले अन्य विस्फोटक सामग्री हुनसक्ने आशंकामा नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थलमा पुगेको छ।








