विप्लवको बन्दले राजधानी काठमाडौंसहित देशैभरको जनजीवन प्रभावित



काठमाडौं जेठ, १३–
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दशैभर बन्दाको प्रभाव देखिएको छ । राजधानी काठमाडौँसहित देशका विभिन्न स्थानमा बम फेला परेका छन् । नेपाली सेनाले आज विहानैदेखि विभिन्न स्थानमा फेला परेका शंकास्पद बस्तु निस्क्रिय पारिरहेको छ ।

बिहान करिब पौने तीन बजे भक्तपुरको च्यामासिंहस्थित मालपोत कार्यालय नजिकै प्रहरीको मोबाइल गस्ती टोलीले सेतो झोलामा फेला पारेको शंकास्पद बस्तुलाई सुरक्षाकर्मीले निस्किृय पारेको छ ।

त्यस्तै, अर्घाखाँचीको सन्धिखर्कस्थित अर्घाखाँची आवासीय माविमा र बाग्लुङको बाग्लुङ नगरपालिका २ कुडुलेचोकमा पनि शंकास्पद बस्तु फेला परेका छन् ।
उता नवलपुरको अरुणखोला पुल नजिकै लु २ ख १०८ नम्बरको ट्रकमा पेट्रोल बम प्रहार भएको छ । पेट्रोल बमबाट चालक घाइते भएका छन् ।

यसैगरी, मोरङको सुन्दरहरैंचा ७ ठडिया चोक नजिक फेला परेको प्रेसर कुकर बम सेनाको टोलीले निष्कृय पारेको छ ।

रौतहटको चन्द्रनिगाहपुर मुख्य चोकमा पनि प्रेसरकुकर बम फेला परेको छ ।

कपिलवस्तुको वाणगंगाका दुई स्थानमा र पोखराको पृथ्वी चोकमा पनि शंकास्पद बस्तु फेला परेको छ ।

पृथ्वी राजमार्गअन्तर्गत धादिङको महादेवबेंशी पुलमा पनि विस्फोटक पदार्थ फेला परेको छ । प्रहरीका अनुसार, गजुरीबाट आएको नेपाली सेनाको सेनाको टोलीले झण्डै चार घण्टा लगाएर उक्त विस्फोटक पदार्थ निस्क्रिय पारेको छ ।
पोखराको विभिन्न तीन ठाउँमा आज बिहान शङ्कास्पद वस्तु देखिएको छ । सिर्जनाचोक र फिर्केचोकको बीचमा एनसेल कार्यालय नजिक, दरबारमार्गस्थित एक पार्टी प्यालेसनजिक र नारेश्वरचोकस्थित सडकको पेटीका शङ्कास्पद वस्तु देखिएको जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता रवीन्द्रमान गुरुङले जानकारी गराए ।
ती शङ्कास्पद वस्तु राखिएको क्षेत्रलाई सुरक्षाकर्मीले आफ्नो नियन्त्रणमा लिएको छ ।

बन्दको क्रममा हेटौंडा बजारको मुख्य चोक बुद्धचोक नजिक राखेको प्रेसरकुकर बम नेपाली सेनाको निष्कृय पारेको छ ।

प्रकाशित मिति : जेष्ठ १३, २०७६ सोमबार  ३ : ५२ बजे