मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

संविधानसभा पदक नलिनेको संख्या ३० प्रतिशत भन्दा बढी



काठमाडौं जेठ, १७–
राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानसभाका सदस्यहरुलाई संविधानसभा पदक र प्रमाणपत्र प्रदान गरेकी छिन् । १२ औं गणतन्त्र दिवसको अवसरमा उनले बिहीबार राष्ट्रपति कार्यालय शितलनिवासमा उक्त पदकबाट विभूषित गरेकी हुन् ।

गृह सचिव प्रेमकुमार राईका अनुसार ७ सय १४ जना सभासद्ले विभूषण तथा प्रमाणपत्र लिएका छन् । नेपाल समाचार पत्र दैनिकले खबर छापेको छ ।

२०६४ साल र २०७० सालमा भएका संविधानसभाका सांसदहरुलाई वितरण गरिएकोे पदक लिनका लागि २ चरणमा गरी समय छुट्याइएको थियो । विभूषण तथा बैठक समारोह शाखामा परिचयपत्रसहित सम्पर्क गरी प्रवेशपत्र लिन गृह मन्त्रालयले अघिल्लो बुधबार नै सूचना जारी गरेको थियो ।

मन्त्रालयको आन्तरिक व्यवस्थापन महाशाखाका सहसचिव महादेव पन्तले पदक पाउनेको संख्या ११ सय ०९ रहे पनि धेरै सभासद् उपस्थित नभएको जानकारी दिए । उनले ९० जना दोहोरिएका सभासद् रहेको बताए ।

८ सयभन्दा केही बढीले फारम भरेको गृह सचिव राईले बताए । मृत्यू भएका सभासद्को विभूषण परिवारले गृह मन्त्रालयबाट पाउने छन् । पदक नेपाली सेनाले बनाएको हो । पदकमा ७ वटा गुँरासका फूल, बीचमा संविधानको किताव, सूर्य चिन्ह र हात मिलाएको तस्विर राखिएको सर्लाही –३ बाट २०७० सालको संविधानसभामा एमालेबाट निर्वाचित हरिप्रसाद उप्रेतीले बताए ।

उनले संविधान निर्माणमा सक्रिय सहभागी भएबापत पाएको सम्मानले खुशी लागेको बताउँदै भने,–‘हामी त भाग्यमानी हौं, संविधानमा हस्ताक्षर गर्न पायौं । प्रमाणपत्रमा ‘नेपालको संविधान निर्माणमा योगदान पु¥याउनु भएकाले यहाँलाई संविधानसभा पदक तथा प्रमाणपत्र प्रदान गरिएको छ’ लेखिएको छ ।

२०६४ सालको संविधानसभा पटकपटक म्याद थप्दै २०६५ जेष्ठ १४ गते मध्यरातबाट भंग भएको थियो । फेरि संविधानसभाको अर्को निर्वाचन २०७० मंसिर ४ गते भएको थियो । राजनीतिक दलहरु असफल भएपछि खिलराज रेग्मी नेतृत्वको सरकारले २०७० सालको संविधानसभाको निर्वाचन गरेको थियो । सुशील कोइरालाको नेतृत्वमा बनेको सरकारले २०७२ साल असोज ३ गते संविधान जारी गरेको थियो ।

संविधानसभा पदक पाएका धेरैजसो सभासद्ले पदक लिएको तस्वीर आ–आफ्नो फेसबुक स्टाटसमा राखेको देखियो ।

पदक लिएपछि राष्ट्रपति भवनको चौरमा उभिदैँ सेल्फी खिचेर उनीहरु फेसबुकमा पोष्टिन हतार गर्दै गरेको दृश्य देखिन्थ्यो ।

प्रकाशित मिति : १७ जेष्ठ २०७६, शुक्रबार  १ : ३८ बजे