मोदीको सपथमा प्रधानमन्त्री ओली



काठमाडौं जेठ, १७–
विश्वकै ठूलो लोकतान्त्रिक मुलुक भारतका प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीले बिम्स्टेक सदस्य मुलुकका राष्ट्र÷सरकार प्रमुखलाई साक्षी राख्दै दोस्रोपटक प्रधानमन्त्री पदको शपथ खाएका छन्। अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ ।

शपथमा बिम्स्टेक सदस्य मुलुकका नाताले प्रधानमन्त्री केपी ओली पनि सहभागी भए। अघिल्लो पटक उनले सार्कका राष्ट्र एवं सरकार प्रमुखलाई साक्षी राखेका थिए। त्यतिबेला तत्कालीन प्रधानमन्त्री सुशील कोइराला सहभागी थिए।

राष्ट्रपति भवनको फोरकोर्टको खुलामैदानमा भव्य समारोहबीच मोदीले बिहीबार साँझ राष्ट्रपति रामनाथ कोविन्दबाट प्रधानमन्त्री पदको शपथ लिएका हुन्। गैरकांग्रेसी प्रधानमन्त्रीका रूपमा दोस्रो कार्यकालको शपथ लिने उनी पहिलो भारतीय प्रधानमन्त्री हुन्। शपथसँगै उनको दोस्रो इनिङ सुरु भएको छ।

समारोहमा प्रधानमन्त्री ओलीले मोदीलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिए। प्रधानमन्त्री ओली र मोदीबीचमा शुभकामनाका क्रममा समेत संक्षिप्त कुराकानी भएको थियो।उत्सवका रूपमा आयोजित समारोहबाटै मोदी क्याबिनेटका सहभागी मन्त्रीलाई पनि शपथ ग्रहण गराइएको छ।

प्रधानमन्त्री ओलीले मन्त्रीगणलाई पनि शुभकामना गर्दै सघन सहकार्यका लागि नेपाल सधैँ तत्पर रहेको बताएका थिए। विकासका लागि अग्रसर नेपालका लागि छिमेकका साथ र सहकार्य रहने भन्दै उनले सहकार्य गर्न तयार रहेको बताए।

प्रकाशित मिति : जेष्ठ १७, २०७६ शुक्रबार  १ : ५० बजे