प्यूठान जेठ, १७–
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रभावशाली नेता वामदेव गौतमले सरकारको नेतृत्व परिवर्तन गर्ने सहमति उल्लंघन गरिए पार्टी एकता बिथोलिने चेतावनी दिएका छन् । नेकपाको सचिवालय सदस्य समेत रहेका गौतमले शुक्रबार प्रेस संगठन, प्यूठानले आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै सहमति उल्लंघन गर्दा पार्टी एकता बिथोलिने भएकाले जे सहमति भएको हो, त्यो गर्नुपर्ने बताएका हुन् ।
केही दिन अघि मात्रै नेता गौतमले ओलीले अध्यक्ष या प्रधानमन्त्री मध्ये एक छोड्नुपर्ने बताएका थिए । उनले प्रचण्ड ओलीको सहयोगी जस्तो मात्रै देखिएको प्रतिक्रिया दिएका थिए । त्यस्तै, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एक टेलिभिजन अन्तरवार्तामा सरकार सञ्चालनका लागि नेकपाले ५ वर्षको म्यान्डेट पाएकाले अध्यक्षद्वयले आलोपालो सरकार चलाउनु पर्ने कि ओलीले अध्यक्ष पद छाड्नुपर्ने धारणा सार्वजनिक गरेका थिए । प्रचण्डको यस्तो भनाइपछि नेकपामा बहस सुरु भएको छ ।
यसबारे शीर्ष नेताहरुको धारणा आउन बाँकी रहेका गौतमले मुख खोल्दै प्रचण्डको समर्थन गरेपछि यो बहस थप चर्कने सँकेत देखिएको छ ।
नेता गौतमले बजेट जनपक्षीय भएको भन्दै त्यसको बचाउ गरेका छन् । जनपक्षीय बजेटका कारण सरकारको प्रशंसा भैरहेको भन्दै उनले कार्यान्वयन भएरै छाड्ने दाबी पनि गरे ।
वैदेशिक ऋण बढी भयो नि भन्ने पत्रकारहरुको जिज्ञासामा उनले भने, ‘ऋण लिनै पर्छ । विकासका लागि विकसित देशहरुले पनि लिएका छन् ।’
पुर्व उपप्रधान तथा गृहमन्त्री समेत रहेका गौतमले आपराधिक गतिविधि शून्य हुन साम्यवाद आउनु पर्ने उल्लेख गरे । एकाध हुने अपराधिक घटनाको छानविन गर्न सबै राजनीतिक दलले सहयोग गर्नुपर्ने उनको भनाइ थियो । उनले प्रमुख प्रतिपक्ष कांग्रेसलाई असल प्रतिपक्षको भूमिका निर्वाह गर्न पनि आग्रह गरे ।