काठमाडौं जेठ, १९–
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद खगराज अधिकारीले आफू संसद भवनभित्रै असुरक्षित भएको बताएका छन् ।
सोमबारको संसद बैठकमा सांसद अधिकारीले सभामुखसँग आफू असुरक्षित रहेको भन्दै ज्यान जोगाइ पाउ भनेका हुन् ।
संसदको बैठक शुरू हुनेवित्तिकै सांसद अधिकारीले सभामुख कृष्णबहादुर महरासँग समय लिएर कुर्सीबाट आफू चार पटकसम्म लडेको बताए । संसदभित्र रहेको भाँच्चिएको कुर्सी हातमा लिएर देखाउँदै अधिकारीले भने, ‘ज्यान जोगाइ पाउँ भन्ने अवस्था आयो ।’
‘यहाँबाट लडको चार पटक भयो । त्यस कारणले यहाँ त छलफलै गर्नभन्दा पहिले अहिलेसम्म दुर्घटना भएको छैन । बच्या छ’, उनले भने, ‘तर यो कति पटक भन्नुपर्ने हो ? संसद सचिवालयलाई ।’
सांसद अधिकारीले भने, ‘कम्तिमा यस्ता कुर्सीहरू नराखियोस् आगामी दिनहरूमा । धराप भयो । धेरै गम्भीर आपत्तिको विषय भयो ।’ सांसद अधिकारीको कुरा सुनेपछि संसद भवनको बैठक कक्षमा रहेका सांसदहरू हाँसेका थिए । सभामुख महराले पनि हाँसो थाम्न सकेनन् । महरा पनि हाँसेका थिए ।
तत्कालै सभामुख महराले महासचिव मनोहर भट्टराईतर्फ संकेत गर्दै भाँच्चिएका कुर्सीहरू हटाएर अर्को व्यवस्था गर्न निर्देशन दिएका थिए । संसद सचिवालयका कर्मचारीहरूको अटेर गर्ने बानी र सांसदहरूले भनेका कुरा नटेर्ने भएका कारण नेकपाका सांसद अधिकारीले बाध्य भएर भाच्चिएको कुर्सीका बारेमा जानकारी गराउनु परेको हो ।
संसद सचिवालयभित्र कर्मचारीहरूका कारण धेरै अव्यवस्था भएको गुनासाहरू बेलाबेला आउने गरेका छन् । संसद भवन नयाँ बानेश्वरको क्यान्टिन र पत्रकारहरूले समाचार लेख्ने मिडिया सेन्टरको अवस्था पनि त्यस्तै छ । मिडिया सेन्टरका कम्युनिस्टहरू तीन वटाभन्दा अरु चल्दैनन् ।