बलियो कांग्रेसका लागी मजबुत सङ्गठन : कांग्रेस प्रवक्ता शर्मा



पाल्पा जेठ, २०–
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सङ्गठनलाई मजबुत बनाए मात्र कांग्रेस मुलुकमा बलियो हुने बताए । पाल्पाको सदरमुकाम तानसेनमा आइतबार कांग्रेस जनजागरण प्रशिक्षणमूलक अभियानमा उनले सङ्गठनलाई मजबुत बनाउँदै जनताको पक्षमा जनलहर सिर्जना गर्न प्रशिक्षण महत्वपूर्ण रहेको बताए ।

कांग्रेस सरकारको समयमा मुलुकमा सङ्घ, प्रदेश र स्थानीय तह गरी तीन तहको निर्वाचन सम्पन्न भएपनि संविधान कार्यान्वयन गर्ने समयमा पार्टी प्रतिपक्षमा बस्नु परेको हुँदा यसबाट पाठ सिकेर अगाडि बढ्नुपर्ने बेला आएको उनले बताए ।

विसं २०४६ को पञ्चायत शासनपछि विकास निर्माणमा आमूल परिवर्तन गर्दै शिक्षा, स्वास्थ्य, सञ्चार, सडक, खानेपानी लगायतका विकासका पूर्वाधारमा कांग्रेस सरकारले मुलुकमा आमूल परिवर्तन गरेको उनले बताए । राम्रा कामको जनता माझ प्रचारप्रसार गर्न नसक्दा कांग्रेसलाई क्षति पुगेको प्रवक्ता शर्माको भनाइ थियो ।

कार्यक्रममा नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य तथा जनजागरण अभियानका प्रतिनिधि बालकृष्ण पाण्डेयले देशव्यापी रुपमा भएको जागरण अभियानले पार्टीलाई सशक्त बनाउने बताए ।

प्रकाशित मिति : जेष्ठ २०, २०७६ सोमबार  २ : ३५ बजे