प्रचण्डसँग ओलीले चित्त दुखाए, आज पनि बस्न सकेन नेकपाको सचिवालय बैठक



 

काठमाडौं जेठ, २०–

आज बोलाईएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित भएको छ । दुई अध्यक्षबीच छलफल गर्नुपर्ने भन्दै बैठक स्थगित गरिएको बताईएको छ ।  महासचिव विष्णु पौडेलले सचिवालय सदस्यहरुलाई बैठक स्थगनको सूचना पठाएका हुन् ।

नेकपा स्रोतका अनुसार केन्द्रीय सदस्यहरुको कार्य बिभाजनलगायतका विषयमा निर्णय गर्नुअघि अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डबीच छलफल हुने भएको छ । नेकपाका एक नेताका अनुसार दुई नेताबीच प्रचण्डको पछिल्लो अभिव्यक्तिपछि असमझदारी बढ्ने आशंका भइरहेका बेला सचिवालय बैठक सारेर छलफल हुन लागेको हो । 

ओली निकट स्रोतका अनुसार आफू भारतका प्रधानमन्त्रीको सपथग्रहण समारोहमा गएका बेला अर्को अध्यक्षले प्रधानमन्त्रीको कार्यकाल १५ महिनामात्र बाँकी रहेको आशयको अभिव्यक्ति दिएकोमा उनले चित्त दुःखाएका छन् ।

सामान्यतः प्रधामन्त्री विदेश भ्रमणमा रहेका बेला विपक्षी दलले समेत देशको प्रधानमन्त्रीलाई कमजोर बनाउने खालका अभिव्यक्ति नदिने प्रचलन रहेकोमा आफ्नै दलको अध्यक्षबाट यस्तो अभिव्यक्ति आउँदा ओलीले चित्त दुःखाएको उनी निकट एक नेताले बताए ।

यद्यपि यो विषयमा प्रचण्डले स्पष्टिकरण दिँदै ओली पाँचै वर्ष प्रधानमन्त्री रहन सक्ने अभिव्यक्तिसमेत दिइसकेका छन् । दुई नेताबीच यसबारे समेत छलफल हुने र कार्य बिभाजन टुंग्याउने र पोलिटव्यूरो गठन गर्ने वा नगर्ने बारेमा सहमति भएपछि मात्र सचिवालय बैठक बस्ने भएको छ । सचिवालय बैठक सम्भवतः मंगलवार बस्ने नेकपा स्रोतले जनाएको छ ।

 

प्रकाशित मिति : २० जेष्ठ २०७६, सोमबार  ७ : ३८ बजे