काठमाडौं जेठ, २१–
सत्तारुढ नेकपाका सांसदले विद्युत प्राधिकरणमा भएको अनियमितताबारे छानबिन गर्न माग गरेका छन् । नेकपाका सांसद महेश बस्नेतले मंगलबार संसदमा बोल्दै
प्राधिकरणका कार्यकारी निर्देशक कुलमानका राम्रा कामको सँधै समर्थन गरेको र गलत गरेको भए अख्तियारले छानबिन गर्नुपर्ने माग गरेका हुन् ।
संसदको शुन्य समयमा बोल्दै सांसद बस्नेतले संसदको लेखा समितिको बैठकमा केही विषयमा प्रश्न उठाउँदैमा सांसद अमनलाल मोदीविरुद्ध तल्लो स्तरमा गालीगलौज गरिएको भन्दै आपत्ति समेत जनाए ।
उनले भने, ‘सार्वजनिक लेखा समितिको बैठकमा माननीय अमनलाल मोदीले विद्युत् प्राधिकरणको ९ अर्ब बक्यौताको बारे प्रश्न उठाउनुभयो । त्यसैगरी भारतबाट खरिद गरिएको पथलैया ट्रान्समिसन लाइनबाट आएको २२५ मेगावाट विजुली प्रयोग गरेपनि नगरेपनि ६ दशमलव ६८ पैसा आईसी तिर्नुपरेकोबारे प्रश्न उठाउनुभयो । यो प्रश्न उठाएपछि केही मिडिया र सामाजिक सञ्जालमा तल्लो स्तरमा गाली गरियो । स्वयं कुलमानले मलाई घेराबन्दी गरियो र अनेक आरोप लगाइयो भनेको पनि सुनियो । कुलमानजीले गरेका राम्रा काममा हामी सबैको साथ, सहयोग र समर्थन छ । माननीय अमनलाल मोदीजीले उठाउनुभएको विषय गम्भीर छ । यसमा सम्बन्धित निकाय अख्तियार दुरुपयोग आयोग र सार्वजनिक लेखा समितिले उचित छानबिन गरोस् र दोषीहरूलाई कारवाही गरोस् भन्न चाहन्छु ।’ यसअघि लेखा सखमिति बैठकमा नेकपाका सांसद अमनलाल मोदी र कुलमान घिसिङको बीचमा चर्काचर्की परेको थियो ।