काठमाडौं जेठ, २२–
जिल्ला इन्चार्ज र सहइन्चार्जको छनोट प्रक्रिया, विधि र कार्यविभाजन मापदण्डलाई लिएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय नेताहरूबीच विवाद भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको केन्द्रीय सचिवालय बैठकमा अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच विवाद भएको हो । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
केन्द्र र प्रदेश सरकारमा रहेका मन्त्री तथा सांसद रहेकाहरूलाई ‘दोहोरो जिम्मेवारी’ हुने गरी इन्चार्ज र सहइन्चार्ज तोक्ने कि नतोक्ने भन्ने विषयमा ओली र नेपालबीच कुरा नमिलेपछि जिम्मेवारी बाँडफाँटबारे ठोस छलफल नै नभएको सचिवालयका एक नेताले बताए । बैठक बुधबार बस्ने गरी स्थगित भएको छ ।
तर, पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले कार्यविभाजन प्रस्तावमाथि छलफल सुरु भइसकेकाले बुधबार बस्ने बैठकबाट टुंगो लाग्ने बताए । ‘कार्यविभाजन प्रस्तावमाथि छलफल अघि बढेको छ,’ श्रेष्ठले भने, ‘बुधबार थप छलफलपछि जिल्ला इन्चार्ज र सहइन्चार्जको अन्तिम टुंगो लगाउँछौँ ।’