देशलाई समृद्ध बनाउने र लोकतन्त्रको रक्षा गर्ने पार्टी काङ्ग्रेस मात्रै होः प्रवक्ता शर्मा



चितवन जेठ, २२–
नेपाली काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जागरण अभियानले आम कार्यकर्तामा संवादको थालनी भएको बताएका छन् । बुधबार चितवनमा पत्रकारसंग कुरा गर्दै प्रवक्ता शर्माले अभियान काङ्ग्रेस सुधारका लागि प्रारम्भ भएको पनि बताए ।

जागरण अभियानले काङ्ग्रेसको गाडीलाई कुन दिशामा लैजाने भन्ने कुराको पुष्टि गर्ने उनको भनाइ थियो । उनले भने, ‘काङ्ग्रेसको रुपान्तरणका लागि जागरण अभियान पनि एउटा ट्याबलेट हो ।’ यो मार्फत् काङ्ग्रेसले गति लिएको भन्दै उनले थपे, ‘काङ्ग्रेसको गाडी स्टाट भयो । हिजो ड्राइभरहरु मात्रै कुदेको देखिन्थ्यो । अब गाडी स्टाट भएको छ दोस्रो चरणमा पुग्दा गाडी राजमार्गमा आउँछ र तेस्रो चरणमा पुग्दा गति लिन्छ ।’ समग्रमा जागरण अभियान सफल भएको उनले बताए ।
अभियानका क्रममा आम जनतामा नैरास्यता मात्रै पाएको बताउँदै उनले देशलाई समृद्ध बनाउँदै लोकतन्त्रको रक्षा काङ्ग्रेसले मात्रै गर्न सक्ने दाबी गरे । शर्माले भने, ‘जनतामा अहिले निरासा छाएको छ । यसलाई आशामा बदल्ने काम काङ्ग्रेसले गर्नुपर्छ । यसका लागि हामी निरन्तर लागेका छौँ ।’

पहिलो चरणको जागरण अभियानको काम ८५ प्रतिशत गाउँ तहमा सम्पन्न भएको उनको भनाइ थियो । आगामी भदौ २४ गतेदेखि असोज ७ गतेसम्म दोस्रो चरणको कार्यक्रम हुने शर्माले बताए । तेस्रो चरणको कार्यक्रम पुस ७ गते देखि १६ गतेसम्म हुनेछ ।

फरक प्रसङ्गमा शर्माले मिडिया काउन्सिल विधेयक फिर्ता हुनुपर्नेमा जोड दिए । प्रेस काउन्सिल आफैँले पत्रकारको सहभागितामा आचार संहिता बनाउँछ ।

प्रकाशित मिति : जेष्ठ २२, २०७६ बुधबार  ७ : ५७ बजे