लोकसेवाको विज्ञापनले संविधान मिच्यो: नेकपा नेता जनार्दन शर्मा



काठमाडौं जेठ, २४–
नेपाल कम्युनिष्ट पार्टीका नेता जनार्दन शर्मा प्रभाकरले लोकसेवा आयोगको विज्ञापन संविधानविपरीत भएको बताएका छन् । सत्तारुढ नेकपाकै नेताले नै स्थानीय तहमा कर्मचारी माग गर्दै लोकसेवा आयोगले खुलाएको विज्ञापन संविधानविपरीत भएको बताएका हुन् । शुक्रबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा नेता शर्माले यस्तो कुरा बताएका हुन् । उनले राज्य व्यवस्था तथा सुशासन समितिले तत्काल स्थगित गर्न निर्देशन दिनुपर्ने माग समेत गरेका हुन् ।
पूर्व गृहमन्त्री समेत रहेका शर्माले यो विज्ञापनले संविधान मिचेको बताए । उनले भने, ‘संविधानमाथि नै प्रहार भयो । यसो भन्दा निर्णय गर्नेहरुलाई चित्त दुख्ला तर, विषय चिख्ने र नदुख्ने होइन ।’
लगातार संविधान मिच्दै अगाडि बढेको भन्दै नेता शर्माले संवैधानिक अराजकताको स्थिति सृजना भएको बताए । ‘संवैधानिक आयोगकै विरोधमा आन्दोलन हुन थाल्यो । यही हो संवैधानिक अराजकता’ उनले भने, ‘यसले राष्ट्रलाई स्वत संकटमा पर्छ ।’

संसदीय समितिले संविधान विरोध हरेक कुरामा छुट दिन नसक्ने भन्दै उनले विज्ञापन रोक्नुपर्ने बताएका छन् ।

प्रकाशित मिति : जेष्ठ २४, २०७६ शुक्रबार  ५ : ४४ बजे