मुस्ताङ जेठ, २४–
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले देशमा हिन्दुराष्ट्र बनाएरै छोड्ने उद्घोष गरेका छन् । शुक्रबार दोस्रो चरणको स्वाभिमान यात्राको मुक्तिनाथमा धार्मिक अनुष्ठान गरि शुभारम्भ गर्दै अध्यक्ष थापाले उक्त कुरा बताएका हुन् । धार्मिक अनुष्ठानपछि रानिपौवामा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष थापाले हिन्दुत्व नेपाल र नेपाली जनताको गौरबशाली पहिचान भएको बताए । उनले सर्ब धर्म समभाव सहितको हिन्दुराष्ट्र आवश्यक भएको जिकिर समेत गरे ।
सनातन धर्म भनेको हिन्दु धर्म मात्र नभएको भन्दै अध्यक्ष थापाले हिन्दु, बौद्ध र किरात धर्मलाई कमजोर बनाउने षडयन्त्रको भण्डाफोर गर्नुपर्ने बताए । सनातन धर्म विस्थापित गर्ने कार्यलाई मुक दर्शक भएर टुलुटुलु हेरिरहन नसकिने विचार नसकिने उनको भनाइ थियो । बेनि–जोमसोम–कोरला मार्ग निर्माण गर्न समेत सो अवसरमा थापाले सरकारको ध्यानाकर्षण गरे । भ्रष्टाचार र कुशासन मौलाएको प्रति उनको तिव्र रोष थियो । मुलुकमा राप्रपाले बोकेको बिचारले मात्र निकास दिन सक्ने भन्दै उनले राष्ट्रवादी शक्तिलाई बलियो बनाउन मुस्ताङबासीको सहयोग मागे ।
अनुष्ठानमा पार्टी अध्यक्ष कमल थापा, वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ ,नेताहरु भिमप्रसाद गौचन, तोरण गुरुङ , हेमजङ्ग गुरुङ, सुशील श्रेष्ठ, भुवन पाठक लगायत नेताहरु सहभागी थिए ।