काठमाडौं जेठ, २४–
काठमाडौंको बौद्धको अत्तरखेलमा गोली चलेको छ । महानगरीय अपराध अनुसन्धान महाशाखाले डकैती मुद्दाका फरार अभियुक्त छिरिङ तामाङलाई समाउन गोली चलाएको हो । तामाङलाई गोली हानेर पक्राउ गरिएको हो ।
महाशाखाका प्रमुख सहकुलबहादुर थापाका अनुसार तामाङको खुट्टामा गोली लागेको छ । हतियार देखाएर लुटपाट गर्ने समूहका ४ जना पक्राउ परे पनि समूहका सदस्य रहेका तामाङ भने फरार रहदै आएको प्रहरीले जनाएको छ ।
प्रहरीमाथि जाइलाग्न खोजेपछि दाहिने खुट्टामा दुई राउण्ड गोली हानिएको प्रहरीले जनाएको छ । उनको वीर हस्पिटलको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
महाशाखाका एसपी ओम अधिकारीका अनुसार उपत्यकाको सुन पसल, मनी एक्सेञ्ज लगायत वित्तिय संस्थामा तामाङको समूहले हातहतियार तथा खुकुरी देखाएर लुटपाट गर्ने गरेको थियो ।
४ जेठमा यो समूहले जोरपाटीमा बुद्धराम सुनारले चलाएको भिमेश्वर सुन चाँदी पसलमा लुटपाट गरेका थिए ।








