काठमाडौं जेठ, २६–
गुठी विधेयकको विरोधमा उत्रिएकाहरुमाथि प्रहरीले लाठी प्रहार गरेको छ । आइतबार सरकारले लयाएको गुठी विधेयकको विरोधमा माइतीघर मण्डलामा विरोधमा उत्रिएकाहरुकामाथि प्रहरीले लाठी प्रहार गरेको हो ।
बाजागाजासहित प्रदर्शनमा उत्रिएकाहरूलाई प्रहरीले पानीको फोहरा र लाठीचार्ज गरेको हो। नेवा राष्ट्रिय मुक्ति मोर्चाका नमस्ते सायमीका अनुसार आन्दोलनमा चार जना पक्राउ र दुई जना घाइते भएका छन्। पक्राउ पर्नेमा नेवाः आन्दोलनका अग्रज महेशमान श्रेष्ठ, अनिष वैद्य, कृष्ण गोपाल र विकास महर्जन रहेका छन्। त्यसैगरी, सजिव बज्रचार्य र महेश कारञ्जीत घाइते छन्। उनीहरू नर्भीक र न्युरो अस्पतालमा उपचाररत छन्।
‘हामीहरू शान्तिपूर्ण रूपमा आन्दोलन गरिरहेका थियौं,’ सायमीले भने, ‘एक्कासी प्रहरी आएर ढुंगामुडा गर्दै लाठी चार्ज गर्यो।’
राष्ट्रियसभामा दर्ता भएको गुठी विधेयकमा गुठीको जग्गा व्यक्तिकरण गर्न लागेको भन्दै विरोध भएको हो। प्रहरीले माइतीघर मण्डलामा प्रदर्शन गरी राखेकाहरूलाई सडक खुला गर्न माइकिङ गरेको थियो। लगत्तै प्रहरी र प्रदर्शनकारीबीच धकेलाधकेल भयो। प्रहरीले गरेको लाठीचार्जबाट केही घाइते छन्।
गुठी विधयक गुठी नै मास्ने नियतले आएको भन्दै प्रदर्शनकारीहरु जनप्रदर्शनमा उत्रिएका हुन्। गुठी जोगाउनभन्दा गुठीका नाममा रहेको अमूल्य जग्गा सक्ने नीति भएको भन्दै सरोकारवालाहरू आन्दोलित भएका हुन्।
यो विधेयक त्रुटिपूर्ण र अपरिपक्व रहेको उनीहरूको ठहर छ। विधेयक पारित भएमा गुठीको जग्गा शक्तिवानहरूले आफ्नो हातमा पार्न सक्ने भन्दै यसलाई खारेज गर्नुपर्ने माग उनीहरुले रोखेका छन्।








