काठमाडौं जेठ, २७–
प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले सोमबारको संसद बैठक अवरुद्ध गरेको छ । आईतबार गुठी विधेयकको विरोधमा माइतीघर मण्डलामा भएको प्रदर्शनमा धरपकड गरेको विषय प्रमुख विपक्षी नेपाली कांग्रेसले गृहमन्त्रीको जवाफ माग्दै सदन अवरुद्ध गरेको हो ।
कांग्रेसको अवरोधपछि संसद बैठक १५ मिनेटलाई स्थगित भएको छ ।
यसअघि सत्तापक्षकी सांसद पम्फा भुसालले बोल्दा कांग्रेसले सदन अवरोध गरेको थियो ।
बैठकको शुरुमै कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँणले गुठियारमाथिको दमन र गुठी विधेयकप्रति आपत्ति जनाएका थिए । त्यसलगत्तै सभामुखले नेकपाकी सांसद भुसाललाई बोल्न समय दिए पनि कांग्रेस सांसदहरु उभिएर विरोध गरे ।
सभामुखले सोही विषयमा भुसालले बोल्न चाहेकाले सुन्न आग्रह गर्दा पनि कांग्रेस सांसदले विरोध जनाएर होहल्ला गरेपछि भुसालले आफ्नो भनाइ राखिन् । उनले गुठी बिधेयक संस्कृति समाप्त पार्ने ढंगले आएको भन्दै विधेयक र गुठियारमाथिको दमनको विरोध गरिन् । अहिले मन्त्री पद्मा अर्यालले जवाफ दिईरहेकी छिन् ।








