काठ्माण्डौ-
मुटुको भल्बमा समस्या देखिएर अस्पताल भर्ना भएका प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल डिस्चार्ज भएका छन्। यही जेठ १९ गते अस्पताल भर्ना भएका पौडेल एक साता अस्पताल बसाईपछि डिस्चार्ज भएका हुन्।
नियमित स्वास्थ्य परीक्षणका क्रममा मुटुमा समस्या देखिएपछि उनको एनजिओप्लाष्टि गरिएको थियो । मुटुको नियमित परीक्षणका लागि काठमाडौँको शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा पुुगेका उनको एनजिओग्राफी गर्दा मुटुको भल्बमा सामान्य समस्या देखिएपछि अस्पतालमा भर्ना भएका थिए।
अस्पतालका मुटुरोग विषेशज्ञ डाक्टर चन्द्रमणि अधिकारीको टोलीले उनको उपचार गरेको थियो । उनी अस्पताल भर्ना भएसँगै एक हप्ताका लागि सार्वजनिक कार्यक्रम स्थगित गरिएको थियो । मुख्यमन्त्री अस्वस्थ भएपछि जेठ २४ र २५ गते हेटौँडामा हुने प्रदेश समन्वय परिषद्समेत स्थगित भएको थियो । जेठ २९ र ३० गते हुने परिषद्को बैठकमा सहभागी हुन मुख्यमन्त्री पौडेल मङ्गलबार हेटौँडा आउने मुख्यमन्त्री पौडेलका प्रेस संयोजक प्रकाश दाहालले जानकारी दिए। उनका अनुसार परिषद् बैठक मुख्यमन्त्रीको अध्यक्षतामा हुनेछ ।








