सुरक्षाकर्मीलाई ढुंगा, ईट्टा हानेपछि मण्डलामा प्रहरीले सामान्य बल प्रयोग गरेको होः गृहमन्त्री थापा



काठमाडौं जेठ, २८–
गृहमन्त्री राम बहादुर थापा बादलले माइतीघर मण्डलामा भएको प्रहरी धरपकडको नैतिक जिम्मेवारी सरकारले लिने बताएका छन् । गृहमन्त्री थापाले प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै शान्तिपूर्ण रुपमा प्रदर्शन गर्न पाउने नागरिकको अधिकार रक्षा गर्न सरकार प्रतिवद्ध रहेको समेत प्रष्ट पारे । आइतबार गुठी विधेयकको विरोधमा भएको प्रदर्शनमा प्रहरीले पानीको फोहरा हान्नुका साथै धरपकड गरेको थियो । त्यसक्रममा केही घाइते भएका छन् ।
गृहमन्त्रीले प्रर्दशनकारीले सार्वजनिक आवागमनलाई अवरोध गरेकाले प्रहरीले सामान्य बल प्रयोग गरेको जनाए । उनले भने, ‘शान्ति पुर्ण रुपमा विरोध प्रर्दशन गर्न पाइन्छ तर प्रहरीलाई सुरक्षाकर्मीलाई ढुंगा हान्ने, ईट्टा हान्ने र उनीहरुको मुखलाई क्षतविक्षत गर्ने अधिकारलाई हामी लोकतान्त्रिक अधिकार त भन्दैनौं ।’

गृहमन्त्रीको जवाफपछि कांग्रेस प्रमुख सचेतक बालृकष्ण खाँडले चौरमा बसेका तथा पक्राउ गरिसकेपछि पनि प्रहरीले लात्तै लात्ताले हानेको भन्दै नैतिक जिम्मेवारी लिनु पर्दैन भन्ने प्रश्न गरे । सत्तारुढ समाजवादी पार्टीका सांसद राजेन्द्र श्रेष्ठले प्रहरीले अनावश्यक बल प्रयोग गर्दै टाउकोमा किन हानेको ? भन्ने प्रश्न गरे ।

जवाफ दिने क्रममा गृहमन्त्री बादलले घटनाको नैतिक जिम्मेवारी लिने बताएका छन् । उनले भने, ‘सरकारले नैतिक जिम्मेवारी लिन्छ । जे कमी कमजोरी भएको छ, त्यसको छानविन हुनुपुर्छ । महानरीय प्रहरीले छानविन पनि गरिरहेको छ ।’

प्रकाशित मिति : जेष्ठ २८, २०७६ मंगलबार  ६ : ४७ बजे