बाबुराम र उपेन्द्रले आज निर्वाचन आयोगमा पार्टी दर्ता गर्दै



काठमाडौं जेठ, ३०–
समाजवादी पार्टी, नेपाल आज निर्वाचन आयोगमा दर्ता हुने हुँदैछ । गत वैशाख २३ मात्रै उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल र बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालबीच एकीकरण भएर समाजवादी पार्टी गठन भएको हो ।
पार्टीका उपमहासचिव प्रकाश अधिकारीका अनुसार समाजवादी पार्टी, नेपाललाई दर्ता गराउन आज निर्वाचन आयोग जाने कार्यक्रम तय गरिएको छ ।
एकीकरणपछि प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रममा शीर्ष नेताहरु व्यस्त रहेका कारण पार्टी दर्ताका लागि ढिलाई भएको बताउँदै नेता अधिकारीको भनाइ छ ।
एकीकृत पार्टीको झण्डा पूर्वफोरम नेपालकै हुनेछ भने चुनाव चिन्हपछि बुझाउने अधिकारीले बताए । २५ जना पदाधिकारीसहित ४३० जना केन्द्रीय सदस्यको नामावली दिएर पार्टी दर्ता गराउने भएको छ ।

केन्द्रीय समितिको अध्यक्षमा उपेन्द्र यादव र संघीय परिषद्का अध्यक्षमा डा.बाबुराम भट्टराई रहेका छन् ।

वरिष्ठ नेता अशोक राई, सहअध्यक्ष राजेन्द्र श्रेष्ठ, उपाध्यक्ष रकम चोम्जोङ, हेमराज राई, नवराज सुवेदी, पर्शुराम खापुङ, हिसिला यमी, युवराज कार्की, रेणुकुमारी यादव, लालबाबु राउत, महासचिव रनध्वज कन्दङ्वा, गंगानारायण श्रेष्ठ, रामसहाय यादव, उपमहासचिव दानबहादुर विश्वकर्मा, डम्बर खतिवडा, प्रकाश अधिकारी, सचिवहरुमा दुर्गा शोव, पर्शुराम बस्नेत, प्रशान्त सिंह, मोहम्मद इस्तियाक राई र कोषाध्यक्षमा विजयकुमार यादव रहेका छन् । दुईजना सचिव पछि थपिने बताइएको छ ।

प्रकाशित मिति : जेष्ठ ३०, २०७६ बिहिबार  ६ : १७ बजे