काठमाडौं ।
नेपाली कांग्रेसले गुठीविरुद्धका भएका आन्दोलनमा आफ्नो समर्थन रहेको बताएको छ । कांग्रेस नेता तथा सांसद् दिलेन्द्रप्रसाद बडुले गुठी विधेयकको विरोधमा भइरहेको सडक आन्दोलनमा आफ्नो पार्टीको समर्थन रहेको बताएका हुन् ।
सोमबार प्रतिनिधिसभाको बैठकमा बोलदै नेता बडुले भने, ‘गुठी विधेयकको विरोधमा सडकमा स्वस्फूर्त रुपमा चलिरहेको अत्यन्त जायज आन्दोलनमा कांग्रेस ऐक्यबद्धता जनाउन चाहन्छ र समर्थन गर्दछ ।’
प्रधानमन्त्री केपी शर्मा ओलीले विधेयक विरोधीतर्फ इंगित गर्दै ‘अब केही मानिसहरूले खुबै मौका पायौं भन्ठान्या हेला्न, कुनै चान्स आउनेवाला छैन, चान्स छैन’ भन्ने टिप्पणी गरेको भोलिपल्ट कांग्रेसले घोषित रुपमै आन्दोलनमा ऐक्यबद्धता जनाएको हो ।
संसदबाट सडक आन्दोलनमा समर्थन रहेको बताए पनि नेता बडुले सरकारलाई गुठी विधेयकबारे संवादबाट समाधान खोज्न आग्रह गरे । ‘सरकारले दमनको बाटो होइन वार्ता र संवादबाट समाधान खोजोस्’ उनले भने, ‘सरकारले गुठी विधेयक फिर्ता गर्नुपर्छ ।’