संसदमा कांग्रेसको नाराबाजी, प्रधानमन्त्री बोल्न खोज्दा अवरोध



काठमाडौं । कांग्रेसले प्रधानमन्त्री केपी ओलीलाई बोल्न नदिने भन्दै संसदको रोष्ट्रम घेराउ गरेको छ । मंगलबार प्रधानमन्त्री ओली सम्बोधनका लागि गइसकेको अवस्थामा प्रमुख प्रतिपक्षी दल कांग्रेसका सांसदहरुले रोष्ट्रम घेरेका हुन् ।
यसअघि कांग्रेसले प्रधानमन्त्री ओलीभन्दा पहिला आफ्ना संसदीय दलका नेताले बोल्न पाउनु पर्ने माग गरेको थियो ।

आज बिहान ११ बजे प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम तय भए पनि कांग्रेसले रोष्ट्रम घेराउ गरेपछि बैठक ढिलाइ भएको हो । कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालले गुठी विधेयक लगायत समसामयिक राजनीतिक घटनाक्रमका विषयमा संसदीय दलका नेताले सदनमा बोल्न पाउनु पर्ने आफूहरुको माग रहेको बताईन् । उनले यो विषयमा सभामुखलाई भेटेरै जानकारी गराएको बताइन्।
सभामुख कृष्णबहादुर महरालाई भेटेर संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्रीभन्दा पहिला बोल्न दिनुपर्ने माग गरेको कांग्रेसले जनाएको छ ।

यद्यपि, कांग्रेसले आफ्ना नेतालाई बोल्न समय नदिने भए सदन अवरुद्ध गर्छौ भनेर चेतावनी समेत दिएको थियो । कांग्रेस सांसदहरुले बैठक सुरू हुनासाथ प्रधानमन्त्रीलाई बोल्न दिएको भन्दै रोष्ट्रम घेराउ गरेर नाराबाजी गरिरहेका छन्। उनीहरुले संसदीय मर्यादा कायम गर भन्दै नारा लगाएका छन् ।

प्रकाशित मिति : असार ३, २०७६ मंगलबार  ६ : ४३ बजे