काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आज पत्रकार सम्मेलन आह्वान गरेका छन् । मंगलबार संसदमा प्रतिपक्षले बोल्न नदिएपछि आज ५ बजे प्रधानमन्त्रीले पत्रकार सम्मेलन बोलाएका हुन् ।
मंगलबार प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका कारण सम्बोधन गर्न नपाएपछि प्रधानमन्त्रीले पत्रकार सम्मेलन गर्न लागेका हुन् । सिंहदरबारस्थित आफ्नै कार्यालयमा पत्रकार सम्मेलन गर्न लागेका प्रधानमन्त्री ओलीले मंगलबार संसदमा भएको घटना, प्रतिपक्षी दलले केही समय अघिदेखि उठाउँदै आएका विभिन्न विधेयकलगायतका एजेण्डा, युरोप भ्रमणका क्रममा गुठी विधेयकलाई लिएर सदनदेखि सडकसम्म भएको विरोधलगायत विषयमा जानकारी दिने तयारी गरेका छन् । यसअघि प्रधानमन्त्री ओलीले नेताहरुसँग परामर्श समेत गरेका छन् ।
प्रतिनिधिसभाको बैठक स्थगित भएलगत्तै सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा नेताहरुसँग परामर्श गरेका थिए ।
प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले प्रधानमन्त्रीको सम्बोधनभन्दा अघि आफ्ना दलका नेताले बोल्न पाउनुपर्ने भन्दै बैठकमा अवरोध गरेपछि सम्बोधन गर्ने कार्यक्रम प्रभावित भएको थियो । कांग्रेसले प्रधानमन्त्रीले भन्दा आफूहरुले पहिला समय मागेको र प्रतिपक्षी दललाई पहिला समय उपलब्ध गराउनुपर्ने संसदीय अभ्यास रहेको दाबी गरेको छ ।








