सिमकोट,
हुम्लाको सिमकोटस्थित खार्पुनाथ गाउँपालिका ५ कैलावालुमा हिजो भएको जिप दुर्घटनामा बेपत्ताहरुको अवस्था अझै अज्ञात छ । नदीमा पानीको बहाव बढेको र गहिरो खोंचमा दुर्घटना भएकाले खोजीकार्यमा समेत कठिनाई भएको प्रहरीले जनाएको छ ।
खार्पु गाउँपालिकाको केन्द्र याङकु जाने क्रममा लु १ ज ७१६६ नम्वरको जीप सडकबाट कर्णाली नदीमा खसेको थियो । जीप दुर्घटनामा परि बेपत्ता हुनेहरुमा खार्पुनाथ गाउँपालिकाका उपाध्यक्ष सिन्धु हमाल, चालक मणिराज शाही, काठमाडौं थानकोटका राजु श्रेष्ठ, खार्पुनाथ ४ का चन्द्र हमाल, नैनसिंह भण्डारी, खार्पुनाथ ५ का बसन्ती शाही, नन्द देवी सिंह, गोकुल सुनार, यसैगरी खार्पुनाथ १ का कौर परियार र उनका दुई वर्षीया छोरा रहेका छन् ।
प्रहरी निरिक्षक राजेन्द्र सिंहको नेतृत्वमा सेना, शसस्त्र प्रहरी लगायतको टोलीले आजपनि बिहानैदेखि खोजी जारी राखेका छन् । दुर्घटनास्थलमा जीपको चाबी र अगाडीको सिसा मात्रै भेटिएको प्रहरीले जनाएको छ । हराईरहेकाको खोजीका लागि काठमाडौंबाट गोताखोरको टोली सेनाको हेलिकोप्टर मार्फत घटनास्थलमा गएको छ ।
सम्बन्धित समाचार्-
हुम्लामा १० यात्रुसहितको जीप कर्णाली नदीमा खस्यो








