काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ विप्लव नेतृत्वको सर्लाही जिल्ला इञ्चार्ज कुमार पौडेलको मारिएको विषयमा नेकपाकै सांसदको निशानामा परेका छन् । सोमबार संसदको रनज्य व्यवस्था समितिको बैठकमा उपस्थित भएर गृहमन्त्री थापाले दिएको बयानलाई नेकपाकै सांसदले अस्वीकार गरेका हुन् ।
गृहमन्त्री थापाले प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा पौडेलको हत्या प्रहरीसँगको मुठभेडमा भएको बताएका थिए।
गृहमन्त्री थापाले भने, ‘प्रहरीको गस्तीमा रहेका बेला दुइटा अन टेस्ट लेखिएको मोटरसाइकलमा आएका चार जना व्यक्तिले प्रहरीलाई लक्षित गरी फायर गरेकाले प्रहरी टोलीले आत्मरक्षाका लागि जवाफी फायर गर्दा एक जनाको घटनास्थलमा मृत्यु भएको थियो ।’ लगत्तै गृहमन्त्री थापाको जवाफको प्रतिवाद गर्दै पूर्वमन्त्री जनार्दन शर्माले प्रतिकार गरे ।
नेकपाकै सांसद एवम् पूर्वगृहमन्त्री जनार्दन शर्माले प्रहरीले दिएकै फोटोमा कुमार पौडेलको हात पाँचरछ ठाउँमा भाँच्चिएको देखिएको बताए।
‘पहिला हातखुट्टा भाँचेर गोली हानिएको अवस्था कसरी मुठभेड हुनसक्छ’, शर्माले गृहमानन्त्री थापा, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल उपस्थित बैठकमा भने, ‘के गोली हानेपछि भाँच्चियो हातखुट्टा ? यस्तो घटनाले विद्रोहमा जनतामा असन्तुष्टि आउँछ।’
उनले आफूहरू विगतमा निहत्था मारिएको भन्दै गृहमन्त्रीलाई प्रश्न गरे,‘के हामी त्यही प्रवृत्ति दोहोर्याउन चाहन्छौं ?’
उनले प्रहरीले कानुनी कारबाहीमा साथ हुने तर हत्यामा साथ नहुने बताए।