कांग्रेसले थाल्यो जनजागरण अभियानमा सहभागी केन्द्रीय प्रतिनिधिसँग अन्तरक्रिया



काठमाडौं । नेपाली कांग्रेसले पहिलो चरणको जागरण अभियानको समिक्षा गर्न ७७ जिल्लामा खटिएका केन्द्रीय प्रतिनिधिसँग अन्तरक्रिया सुरु गरेको छ । पार्टी कार्यालय सानेपामा बुधबारबाट दुई दिने अन्तरक्रिया कार्यक्रम सुरु भएको हो । पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा सुरु अन्तरक्रिया कार्यक्रममा ७७ जिल्लामा खटिएका केन्द्रीय प्रतिनिधिहरु सहभागी हुने भनिए पनि पहिलो दिनको कार्यक्रममा सहभागीहरुको संख्या न्यून देखिएको थियो । अन्तरक्रिया कार्यक्रममा बोल्दै पार्टी सभापति शेरबहादुर देउवाले पार्टीले सुरु गरेको पहिलो चरणको कार्यक्रममा केन्द्रीय प्रतिनिधिहरुले पार्टी जिल्ला जिल्लामा पार्टीका नेता कार्यकर्तामाथि देखिएका समस्या लगायतका विषयमा प्रतिनिधिहरुले केन्द्रीय कार्यालयमा सुझाव ल्याउने बताए ।

उनले सरकारले गरेका जनविरोधी काम आम पार्टी कार्यकर्ता र सर्वसाधारण नागरिकसम्म पुर्याउन कार्यक्रम सफल भएको बताए । उनले पहिलो चरणको जनजागरण अभियानले पार्टी संगठनमा सकारात्मक असर देखिएको बताउदै पहिलो चरणको कार्यक्रमलाई समिक्षा गर्दै अब दोस्रो र तेस्रो चरणको कार्यक्रमको तयारीमा लाग्नुपर्ने पनि बताए । त्यस्तै, सोही कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री पूर्णबहादुर खड्काले तीन महिने जागरण अभियानका लागि पार्टी सभापति शेरबहादुर देउवाको निर्देशन अनुसार ७७ जिल्लामा खटिएका प्रतिनिधिले आ–आफ्नो प्रतिवेदन पार्टीमा बुझाउने प्रक्रिया चलिरहेको बताए । महामन्त्री खड्काले ७७ जिल्लामा खटिएका केन्द्रीय प्रतिनिधिले पाटीृका पदाधिकारी, पूर्वपदाधिकारी तथा ७७ जिल्लाका नेता कार्यकर्तासँग प्रत्यक्ष सहभागी भएर वास्तविक धरतालको प्रतिवेदन तयार पारेको बताए ।

उनले त्यसरी केन्द्रीय प्रतिनिधिले तयार पारेको प्रतिवेदन कांग्रेसको आउने केन्द्रीय समिति बैठकमा समेत प्रस्तुत गर्ने बताए । महामन्त्री खड्काले पार्टीले ७७ जिल्लामा खटिएका केन्द्रीय प्रतिनिधिसँग छलफल गर्दा जिल्ला तहमा देखिएका सबै समस्याका बारेमा एक अर्कासँग मज्जाले छलफल गर्न पाए पार्टीलाई फाइदा हुने भएकाले सबै केनद्रीय प्रतिनिधिलाई काठमाडौं बोलाएको बताए । उनले हरेका केन्द्रीय प्रतिनिधिलाई १० मिनेटको समय छुट्टाएकाले करिब १५ घण्टामा सबै प्रतिनिधिले आफ्नो कुरा राखि सक्ने बताए । दुई दिनसम्म चल्ने अन्तरक्रियामा सभापति देउवासँगै वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिद्वय विमलेन्द्र निधि, विजय गच्दार, महामन्त्री द्वय डा. शशांक कोइराला, पूर्णबहादुर खड्का लगायत पदाधिकारीसँगै पार्टीका केन्द्रीय सदस्यहरुको सहभागीता रहेको थियो ।

प्रकाशित मिति : असार ११, २०७६ बुधबार  ९ : १० बजे