युवतीमाथि ‘सिरिन्ज’ घोप्ने कार्की महाराजगञ्जबाट समातिए



काठमाडौं । लगातार युवतीमाथि ‘सिरिन्ज’ आक्रमण गर्दै आतंक फैलाउने एकजना पक्राउ परेका छन् ।

प्रहरीले ‘सिरिन्ज’ आक्रमणको अभियोगमा महाराजगन्जमा रेस्टुरेन्ट चलाउँदै आएका ३० वर्षीय सन्तोष कार्कीलाई पक्राउ गरेको हो । गएराती महानगरीय प्रहरी परिसर काठमाडौँ र अपराध महाशाखाको टोलीले उनलाई महाराजगञ्जबाटै पक्राउ गरेको हो ।

उनी श्रृङ्खलाबद्ध रुपमा युवतीमाथि तिखो बस्तुले हान्दै भाग्ने कार्यमा संलग्न रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले शुक्रबार कार्कीलाई पक्राउ गरी सार्वजनिक गरेको हो । रामेछाप घर भएका उनले प्रारम्भिक बयानका क्रममा आफ्नो अपराध स्वीकार्दै रमाइलोका लागि यस्तो कार्य गरेका बताएका छन् ।

महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाका अनुसार कार्कीले सुई नभएर काठको सुइरो र ढलान किला प्रयोग गरेर युवतीहरुलाई घोच्ने गरेको बयान दिएका छन् । केटीप्रतिको आकर्षणले आफूले यस्तो गर्ने गरेको उनको भनाई छ ।

बाटोमा युवतीहरुलाई एक्लै देखे उनले आक्रमण गर्ने गरेका थिए ।

प्रहरीले घटनामा प्रयोग भएको बा ४७ प १३३१ नम्बरको मोटरसाइकल पनि बरामद गरेको छ ।

त्यही मोटरसाइकलमा महाराजगञ्जबाट नैकापस्थित घर फर्कर्ने क्रममा उनले बाटोमा युवतीहरुमाथि आक्रमण गर्ने गरेका थिए ।

आफूमाथि सिरिन्ज आक्रमण भएको भन्दै केही युवतीले उजुरी दर्ता गराएपछि प्रहरीले अनुसन्धान थालेको थियो ।

उनी पाँच वर्ष साउदी अरबमा बसेको पनि खुलेको छ । उनी मानसिक रोगी हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको छ ।

प्रहरीले यसबारे थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : असार १३, २०७६ शुक्रबार  ७ : १९ बजे