अन्ततः आईफा अवार्ड नेपालमा नगर्ने निर्णयमा सरकार



काठमाडौं ।
सरकार आईफा अवार्ड नगर्ने निर्णयमा पुगेको छ । सरकारको निर्णयसँगै भारतीय फिल्म अवार्ड ‘आईफा’ नेपालमा नहुने भएको हो । सरकारले चौतर्फी विरोधपछि उक्त अवार्ड कार्यक्रम नेपालमा नगर्ने निर्णय गरेको हो ।
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले यसवर्षको आईफा अवार्ड नेपालमा नहुने बताएका हुन् ।
यसअघि प्रतिनिधिसभा अन्तर्गतको अन्तरराष्ट्रिय सम्बन्ध समितिले सरकारलाई इन्टरनेसनल इन्डियन फिल्म एकेडेमी (आईफा) अवार्ड आयोजना नगर्न सरकारलाई निर्देशन दिएको थियो ।

समितिको बैठकले आईफा अवार्ड गरिनु नेपालको राष्ट्रियता र सार्वभौमिकतामाथि नै प्रष्न उठ्ने भएकोले अवार्ड रोक्न निर्देशन दिएको थियो ।

सरकारले उक्त अवार्ड समारोह नेपालामा गर्ने निर्णय गरेपछि त्यसको खर्च कस्ले बेहोर्ने भन्ने विषयमा राजनितिक र नागरिक तहमा निकै विवाद उत्पन्न भएको थियो ।

अवार्ड समारोह आयोजना गर्नका लागि सरकारले संस्कृति पर्यटन तथा नागरिक उड्डयनका राज्यमन्त्री धनबहादुर बुढाको संयोजकत्वमा उच्चस्तरीय समिति बनाएको थियो।

समितिमा पाँच वटा मन्त्रालयका सचिव, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसंघ र होटल एसोसिएसन अफ नेपालका प्रतिनिधि थिए।

यो समितिले अवार्डका लागि सम्झौता, सहजीकरण, समन्वय गर्ने र कार्यक्रम नेपाल आर्मीको मुख्यालय अगाडि रहेको मैदानमा गर्ने तय भएको थियो।

प्रकाशित मिति : असार १८, २०७६ बुधबार  ७ : ५४ बजे