काठमाडौं –
नक्कली सवारी चालक अनुमती पत्र बनाउने एक गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी अपराध महाशाखाको टोली र महानगरीय ट्राफिक प्रहरी महाशाखाको संयुक्त टोलीले गिरोहका चार सदस्यलाई पक्राउ गरेको छ। उनिहरुको साथबाट नक्कली सरकारी छाप र लाइसेन्स बरामद भएको प्रहरीले जनाएको छ।
ललितपुरको धोबिघाट बस्ने रामेछापका ४० वर्षीय मुनाल कुमार मोक्तान, काठमाडौंको चाबहिल बस्ने सिन्धुपाल्चोकका ३८ वर्षीय राजेशकुमार श्रेष्ठ, तिलगंगा बस्ने ३८ वर्षीय राधेश्याम नगरकोटी र कागेश्वरीका २८ वर्षीय रुपेन्द्र दर्जीलाई प्रहरीले नक्कली सरकारी छाप र लाइसेन्स सहित पक्राउ गरेको हो ।








