माक्स लगाउनेसँग खनिए प्रधानमन्त्री ओलीः मेरो विरोध गर्नका लागि लगाए



काठमाडौं । प्रधानमन्त्री शर्मा केपी ओलीले आफ्नो विरोध गर्नेहरुले मात्रै माक्स लगाउने गरेको आरोप लगाएका छन् । उनले विरोधीहरुले माक्स लगाए पनि उक्त काम स्वास्थ्यको लागि राम्रो भएको बताए । केही दिन अघि प्रधानमन्त्री ओलीले एक कार्यक्रममा आफ्नो नेतृत्वमा सरकार बनेपछि मास्क लगाउनेहरू घटेको भन्ने अभिव्यक्ति दिएका थिए । प्रधानमन्त्रीको उक्त अभिव्यक्तिको सर्वत्र आलोचना समेत भएको छ । प्रधानमन्त्रीले उक्त अभिव्यक्तिको प्रतिरक्षा गर्नकै लागि आजको अभिव्यक्ति दिएका हुन् ।

शुक्रवार पार्टी मुख्यालय धुम्बाराहीमा समाजवादी पार्टीबाट नेकपामा प्रवेश गरेका पूर्व नयाँ शक्तिका नेताहरूलाई स्वागत गर्दै प्रधानमन्त्री ओलीले भने– ‘मेरो नेतृत्वमा सरकार बन्ने बेलामा धूलोका कारण मास्क नलगाई हिँड्न सक्ने अवस्था नै थिएन, अहिले त्यो घटेको छ भनेको थिएँ केही तत्वहरूले मेरो विरोध गर्नकै लागि मास्क लगाउन थालेका छन् । मास्क लगाउने बानी बसाल्नु त स्वास्थ्यका लागि राम्रो हो नि १ु

कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेकपामा बाबुराम भट्टराईदेखि फोरमसम्म सबै अटाउन सक्ने बताए । उनले भने, ‘केहीबेरअघि प्रचण्डजीले बाबुरामजीलाई पार्टीमा आउन आह्वान गर्नुभयो, बाबुरामजी मात्र किन ? फोरमकाहरू पनि आउनुस् न । नअटाउने कुरै छैन, अरू पार्टीमा लागेर अल्मलिएका साथीहरूलाई म हार्दिक रूपमा आह्वान गर्दछु ।’

उपप्रधान एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम र डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपाल मिलेर केही समयअघि समाजवादी पार्टी बनेको थियो ।

प्रधानमन्त्री ओलीले आइफा अवार्डबारे सरकारी तहबाट निर्णय नै नभई विरोध गरिएको भन्दै असन्तुष्ट पनि जनाए । प्रधानमन्त्री ओलीले भने, ‘देशलाई फाइदा हुने देखे आइफा अवार्ड गर्न दिन म तयार छु ।’

प्रकाशित मिति : असार २०, २०७६ शुक्रबार  ७ : ४२ बजे