पार्टी भित्र सहमति बन्छ भने नेतृत्वमा मेरो दाबी रहँदैनः कांग्रेस वरिष्ठ नेता पौडेल



चितवन । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी भित्र सहमति भए आफूले नेतृत्वको दाबी नगर्ने पनि बताएका छन् । शुक्रबार प्रेस युनियन चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता पौडेलले उक्त कुरा बताएका हुन् । उनले पार्टीलाई एकजुट बनाउन सक्ने नेतृत्वको आवश्यकता रहेको प्रष्ट पारे ।

पार्टीमा सुधार र परिवर्तनको आवश्यकता रहेको भन्दै पौडेलले त्यसका पक्षधरसँग छलफल भइरहेको जानकारी दिए । त्यसका लागि समयमा नै महाधिवेशन गर्नुपर्ने उनको भनाइ छ । उनले भने, ‘म नहुँदा पनि एकता हुन सक्छ । जसमा एकता हुन्छ छलफलबाट त्यसैलाई नेतृत्व दिनुपर्छ ।’

पौडेलले पार्टीलाई सशक्त बनाउन तलैबाट संगठन मजबुत बनाएर लैजानुपर्ने बताए । दुईतिहाइको सरकारप्रति जनता असन्तुष्ट रहेको भन्दै जनताले सरकारको विकल्प खोजेको उनको भनाइ थियो । ‘नेता पौडेलले भने, ‘त्यो विकल्पका लागि कांग्रेस तयार रहन आवश्यक छ ।’ कम्युनिस्टबाट त्यो सम्भव नभएको भन्दै उनले जनताको भरोसाको रूपमा कांग्रेसलाई अगाडि बढाउनुपर्नेमा जोड दिए । सरकारले आफ्नो पक्षधरलाई पक्षपोषण गरेर विपक्षीलाई बेवास्ता गरेको आरोप पौडेलको भनाइ थियो ।

प्रकाशित मिति : असार २०, २०७६ शुक्रबार  ८ : ११ बजे