मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भारतसामू दुईसाता टिकेन ओली सरकार, दबाबपछि पूर्व निर्णय फिर्ता



काठमाडौं असार, २२–
सीमा नाकामा विषादी परीक्षण गरेर मात्रै आयात गर्ने अडान लिएको दुईसाता भित्रैमा सरकार आफ्नो निर्णयबाट पछि हटेको छ । चर्को भारतीय दबाबपछि विषादी परीक्षण नगरी फलफूल र तरकारी आयात शुरु भएको छ । नेपाल समाचार पत्र दैनिकले समाचार छापेको छ ।

सरकारले गत असार दुई गते राजपत्रमा सूचना प्रकाशित गरी भन्सार बिन्दुमा क्वारेन्टाईन र जीवनाशक विषादीको अवशेष अनिवार्य परीक्षण गर्ने नीति ल्याएको थियो । तरकारी र फलफूलको आयात प्रभावितबारे चासो लिएको भारतीय दूतावासले सरकारलाई लिखित पत्र पठाएपछि मन्त्री परिषद्ले निर्णय फिर्ता लिएको हो ।

नेपालको परिवर्तित नीतिले आफ्ना कृषक र व्यवसायी मारमा परेको जनाउँदै दूतावासले लिखित पत्र नै पठाएर दबाव दिएपछि बिहीबारको मन्त्रिपरिषद् बैठकले ६ महिनाका लागि यो नीति स्थगित गरेको कृषि मन्त्रालय स्रोतले जनाएको छ । तर सरकारले भने विषादी परीक्षणका लागि आवश्यक ल्याब, उपकरण र अन्य तयारी पर्याप्त नभएको कारण देखाउँदै तत्कालका लागि परीक्षणकार्य स्थगित गरिएको जनाएको छ ।

जनस्वास्थ्यसँग जोडिएको विषयबारे सरकार गम्भीर नभएको र आफ्नो निर्णयबाट पछि हटेकोमा सत्तारुढ दल नेकपाको नेतृत्व नै असन्तुष्ट बनेको छ । सरकार जनताको स्वास्थ्यप्रति सचेत र गम्भीर नभएको बताउँदै नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालको भनाइ छ । ‘सरकारले खाद्यान्न, तरकारी र फलफूलमा विषादी नभएको विश्वास दिलाउनुपर्छ, कर्मचारी र उपकरण अभाव देखाउँदै जनतालाई विषादीयुक्त खाद्यान्न उपभोग गर्न बाध्य पारिनु हुँदैन’ –शनिबारको नेकपा संसदीय दलको बैठकपश्चात उहाँले सञ्चारकर्मीसँग भन्नुभयो ।

कसैका दवाब सामु झुक्न नहुने बताउँदै नेता नेपालले विषादी परीक्षण नगर्ने निर्णयमा पुनः विचार गर्न आग्रह गर्नुभयो । नेकपाका अर्का नेता भीम रावलले मन्त्रीपरिषद्को निर्णयप्रति आश्चर्य व्यक्त गर्दै कसैको आग्रहमा जनताको हितप्रतिकूलको निर्णय गर्नुलाई स्वभाविक मान्न नसकिने बताउनुभयो । उहाँले भन्नुभयो– ‘एउटा स्वतन्त्र र सार्वभौम देशले सिमानामा तरकारी र फलफूल जाँच्न नपाउने अनि जाँच्न खोज्दा कसैले पत्र पठायो भन्दैमा तुरुन्त निर्णय फिर्ता लिनु सरकारका लागि सुहाउने कुरा होइन ।’

प्रकाशित मिति : २२ असार २०७६, आइतबार  २ : ३४ बजे