चितवन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विगत लामो समयदेखि ओछ्यानमा थलिएका पुराना नेता तथा अशक्त योद्धाहरुलाई भेटघाट गरेका छन । पार्टीको कार्यक्रममा भाग लिन चितवन पुगेका नेता पौडेलले अन्य कार्यक्रम छोटयाएर जिल्ला भित्रका प्रायः सबै अशक्त पुराना नेता लाई भेटघाट गरेका हुन् ।
उक्त अवसरमा नेता पौडेलले पुराना प्रजातान्त्रिक योद्धाहरुलाई पार्टीप्रति गरेको योगदानको उच्च मुल्यांकन हुने बताए । उनले रोगलाई प्रतिवाद गर्न आत्मबल दरो पार्दै निरन्तर शारीरिक ब्यायाम गर्न सबैलाई सुझाव समेत दिए । पार्टी भित्र बैचारिक एवम् त्यागी नेताको पहिचान बनाएका पौडेल बिरामी भेट्न् घर घर पुग्दा कांग्रेसका योद्धाहरु भावुक बनेका थिए ।
उनीहरुले नेपाली कांग्रेस इतिहासमा अहिलेसम्मकै यस्तो कमजोर कहिल्यै नभएको गुनासो गरेका थिए । उनीहरुले निष्ठावान नेता पौडेललाई बलियो कांग्रेस बनाउने अभियानको नेतृत्व लिन समेत आग्रह गरेका थिए । उक्त अवसरमा वरिष्ठ समाजसेवी एवम् पूर्वसांसद मैयादेवि श्रेष्ठले भनिन्, ‘पार्टीले निकै दुःख पायो, पार्टीको नेतृत्व तपाईले लिनुपर्यो ।’
वरिष्ठ नेता पौडेलले चितवन जिल्ला सदस्य प्रह्लाद सापोटाका पिता, वरिष्ठ महिला नेतृ एवम् लोकतान्त्रिक आन्दोलनकी धरोहर पूर्वसांसद कृष्णकुमारी श्रेष्ठ लगायत आधा दर्जन बढी प्रजातान्त्रीक सेनानीलाई भेटेका थिए । उनीहरु सबैले कांग्रेसको चिन्ता गर्दै पौडेललाई नेतृत्व लिन आग्रह गरेका थिए ।