मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सत्तामा पुगेपछि शासन चलाउन नजान्ने कम्युनिष्टको रोगः प्रचण्ड



काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनतासँग गरिएका वाचा पूरा गर्न सबैखाले अहंकार र व्यक्तिवादी चरित्र त्याग्नुपर्ने बताएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका दाहालले आन्दोलन गर्दासम्म लोकप्रिय रहे पनि सत्तामा पुगेपछि शासन चलाउन नजान्ने रोग नेपालका कम्युनिस्ट पार्टीमा देखिएको प्रष्ट पारे ।

आइतबार नेपाल दूरसञ्चार राष्ट्रिय कर्मचारी संगठनको एकता महाधिवेशनलाई भक्तपुरमा उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले सरकारको नेतृत्वमा पुगेको कम्युनिस्ट पार्टीको लोकप्रियताको ग्राफ घट्दै गएकोमा चिन्ता व्यक्त गरे ।

उनले भने, ‘अहिले हामी फेरि एउटा अग्नि परीक्षामा छौं, जनताको भरोसाविना टोलटोलमा गएर राजनीतिक रूपमा प्रशिक्षित गर्ने, अगुवाई गर्ने र जनताको भरोसा लिन सिपालु कम्युनिस्टहरू शासनमा पुगेपछि साशन चलाउन चाहिँ नजान्ने, विश्वभरी त्यो एउटा तितो नेगेटिभ अनुभव देखिएकै छ, त्यो अक्टोवर समाजवादी क्रान्तिदेखि अहिलेसम्म पनि देखिएको छ ।’ आन्दोलन गर्ने हदसम्म लोकप्रिय तर, शासन गर्ने ठाउँमा पुग्दासम्म त्यो लोकप्रियताको ग्राफ माथि जाला भन्दा तलतिर ओर्लिने खतरा कम्युनिष्टहरुमा देखिएको अध्यक्ष दाहालको भनाइ छ ।

यो अग्नि परिक्षा पास गरेमा सगरमाथाको देश नेपालबाट संसारलाई नयाँ उज्यालो र शक्तिशाली सन्देश दिन सकिने उनले बताए ।

उनले भने, ‘हामीले पनि अरू देशका शासक कम्युनिस्ट जस्तै, शासनमा पुगेका कम्युनिस्टले जस्तै लोकप्रियताको ग्राफ घटाउँदै लग्यौं, सामूहिक स्वार्थलाई भन्दा व्यक्तिगत र गुट स्वार्थलाई साथ दिन थाल्यौँ भने फेरि हाम्रो पनि नियती, नियत बढो सफा हुँदाहुँदै पनि नियतिले बजार्दिने त्यही ठाउँमा हो ।’

प्रकाशित मिति : २२ असार २०७६, आइतबार  ११ : ०१ बजे