विषाक्त तरकारी आयात गर्ने निर्णयविरुद्ध नेविसंघ चरणबद्ध आन्दोलनमा, यस्ता छन् आन्दोलनका कार्यक्रम



काठमाडौं । कांग्रेस भातृसंगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले सरकारविरुद्ध देशैभर प्रदर्शन गरेको छ । सोमबार देशैभरका क्याम्पस अगाडि प्रदर्शन गरेको नेविसंघले सरकारविरुद्ध चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।
नेविसंघले भारतबाट नेपालमा आयात हुने तरकारी र फलफूलको विषादी परीक्षण गर्ने निर्णयबाट सरकार पछि हटेको विरोधमा विषाक्त तरकारीसहित प्रदर्शन गरेको हो ।

नेविसंघका निवर्तमान केन्द्रीय सदस्य शुशिल भट्टले सरकारको निर्णयले आमनागरिकलाई विषाक्त तरकारी खान बाध्य बनाएकोले प्रदर्शनसहितका आन्दोलनका कार्यक्रम गर्नुपरेको बताए ।

नेविसंघले सोमबार काठमाडौंको बालाजु नेपालटासस्थित ग्रामीण र एनआर क्याम्पस अगाडि पनि विरोध प्रदर्शन गरेको थियो । प्रदर्शनमा निवर्तमान केन्द्रीय सदस्य शुशील भट्टसहितका विद्यार्थीहरु विषाक्त तरकारीसहित नाराबाजीमा उत्रिएका थिए ।

आन्दोलनका कार्यक्रम अनुसार २४ गते ७७ वटै जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई विषाक्त तरकारी र फलफूल पठाउने कार्यक्रम रहेको नेविसंघले जनाएको छ ।

जसअनुसार २५ गते विषाक्त तरकारीको असरबारे प्रचारप्रसार गर्ने, २६ गते मसाल जुलुस निकाल्ने र २७ गते माइतीघरमा प्रदर्शन गर्ने नेविसंघले जनाएको छ ।

प्रकाशित मिति : असार २३, २०७६ सोमबार  ७ : ५९ बजे