काठमाडौं । विषादी प्रकरणमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफू लज्जित भएको बताएका छन् । प्रधानमन्त्री ओलीले भारतबाट आएको पत्र गोप्य राखेर झुक्याइएको भन्दै आफू लज्जित हुनुपर्ने अवस्थामा पुगेको बताए । उनले यसबारे खोजबिन भइरहेको समेत प्रष्ट पारे ।
बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले भने, ‘भारतबाट पात्र आएको रहेछ, तर मैले आएको छैन भनेर सार्वजनिक रुपमा बोलेँ, विभिन्न ठाउँमा कूटनीतिक प्रयास हुनु र मलाई जानकारी नदिनुले म लज्जित हुनुपर्यो । यसप्रति म क्षमाप्रार्थी छु ।’
उनले आफूलाई झुक्याएको विषय सामान्य लापरवाही हो वा जानीबुझी हो भन्ने बुझ्ने काम भइरहेको उनको भनाइ छ । प्रधानमन्त्री ओलीले नेपालीको भान्सामा विषादी पाक्न हुँदैन, शुद्ध खाना हुनुपर्छ भन्ने सरकारको उद्देश्य रहेको बताए । यद्यपि, भारतीय राजुदूतावासको पत्र आएको विषयमा प्रधानमन्त्री ओलीले केही दिन अघि मात्रै बडो व्यंग्य प्रहार गरेका थिए । उनले त्यतिवेला भनेका थिए, ‘के पत्र ः कहाँबाट आएको पत्र ? कहीबाट पत्र आएको छैन ।’ तर, सञ्चारमाध्याममा दुतावासबाट आएको पत्र सार्वजनिक भएपछि, अदालतले सरकारको निर्णय रोक्न आदेश दिएपछि प्रधानमन्त्री ओली नराम्रो तरिकाले चुकेका छन् । उनले केही उपाय नपाएपछि लज्जित हुँदै माफी मागेका हुन् ।