काठमाडौं । पार्टी नेता कार्यकर्ताहरुबाट नेताहरुबीच एकता नभएको गुनासो बढीरहेका समयमा संस्थापनइतर नेताहरुले कांग्रेस महामन्त्री डा. शशांक कोइरालाको निवास महाराजगञ्जमा छलफल गरेका छन् ।
कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल , महामन्त्री शशांक कोइराला पूर्वमहामन्त्री एवम् नेता प्रकाशमान सिंह, नेता अर्जुननरसिंह केसी, शेखर कोइराला , बलबहादुर केसी, रामशरण महत , नेतृ सुजाता कोइराला, मिनेन्द्र रिजाल ,प्रदीप पौडेल, उमाकान्त चौधरी, लगायतका नेताहरु उक्त छलफलमा सहभागी भएका हुन् ।
अर्का नेता कृष्ण सिटौला भने देश बाहिर रहेका कारण अनुपस्थित रहेको उक्त छलफलमा सहभागी एक नेताले न्यू सञ्चारलाई बताए ।
छलफलमा अविलम्ब पार्टीको महाधिवेशनमार्फत नेतृत्व परिवर्तन नगरेसम्म पार्टीको साख माथि उठ्न नसक्ने निष्कर्ष निकालिएको बताइएको छ । छलफलमा नेतृत्व परिवर्तनका लागि आन्तरिक एकता मजवुत पार्ने विषयमा छलफल भएको बुझिएको छ । सरकार र सरकार सञ्चालन गर्ने पार्टी जनताबाट हदैसम्म आलोचित हुँदा पनि पार्टीका पक्षमा जनलहर नआएको भन्दै छलफलमा सहभागी नेताहरुले अब पार्टीलाई पुरानै अवस्थामा फर्काउन र कार्यकर्तामा मर्दै गएको उत्साह पुर्नजागृत गर्न शिघ्र महाधिवेशन र नेतृत्व परिवर्तनको विकल्प नभएकोमा एकमत भएर अघि बढ्ने निष्कर्षमा नेताहरु पुगेको बताइएको छ । ।
बैठकमा पार्टीको आगामीमहाधिवेशनको तयारी र प्रकृयाका विषयमा समेत छलफल भएको छ । त्यस्तै, नेताहरुले पार्टीले सञ्चालन गरेको जनगारण अभियान पूर्ण रुपमा प्रभावकारी हुन नसकेको निष्कर्ष समेत निकालेका छन् ।
स्थानीय तहका पार्टी संरचनाहरु रिक्त राखेर गाँउ गाँउमा पार्टीको जनलहर ल्याउन नसकिने निचोडमा सबै पुगिसकेकाले अब पार्टी बिधान बमोजिमका सबै संरचनाहरुमा विधिवत अधिवेशन र पार्टीको महाधिवेशनमा केन्द्रीत हुनेगरी नेताहरुबीच छलफल भएको बताईएको छ ।
त्यस्तै, नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी संघको अधिवेशनका लागि पार्टी सभापति शेरबहादुर देउवाले कसैसँग छलफल नगरि बिधान विपरित प्रतिनिधि खटाएको विषयमा समेत छलफल भएको थियो । उक्त अधिवेशनका लागि खटाएका प्रतिनिधिले गरेको निर्णय मान्न नसकिनेमा समेत सबै नेताहरु एकजुट भएका छन् ।
पार्टी बिधान विपरित र मनलागी पार्टी चलाएको र पार्टीका भातृसंस्थाहरु लथालिंग पारेकोमा पनि नेताहरुले छलफल गरेका थिए ।
पार्टीको संस्थापन पक्षसँग असहमती राख्ने नेताहरुले यसअघि पनि पटक पटक छलफल गर्दै आएका छन ।