यती एयरलाइन्सको विमान धावनमार्गमा चिप्लियो, सम्पूर्ण उडान अवरुद्ध



काठमाडौं । यती एयरलाइन्सको विमान अवतरणका क्रममा धावनमार्गमै चिप्लिएको छ । शुक्रबार नेपालगञ्जबाट यात्रु बोकेर आएको यती एयरलाइन्सको एटीआर–७२ को जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा चिप्लिएको हो ।
धावन मार्गमा चिप्लिएको उक्त विमानबाट सबै यात्रुलाई सकुशल बाहिर निकालिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीले जानकारी गराए । यद्यपि, विमानमा कति यात्रु थिए भन्ने खुलेको छैन । यतिवेला धावन मार्गमै जहाज चिप्लिएका कारण विमान उडान अवरुद्ध बनेको छ । वर्षा जारी रहेकाले अवरुद्ध विमानस्थल सञ्चालनमा आउन समय लाग्ने विमानस्थल स्रोतले जनाएको छ ।

प्रकाशित मिति : असार २७, २०७६ शुक्रबार  ६ : ०९ बजे