काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितमाथि दुर्व्यवहार गरिएको छ । शुक्रबार बिहान ललितपुरको जावलाखेलमा आयोजित आदिवासी जनजातिहरुको बैठक स्थलमा आदिवासी जनजाति युवा विद्यार्थीले मन्त्री पण्डितमाथि दुर्व्यवहार गरेका हुन् । सार्वजनिक कार्यक्रमस्थलमै पसेर युवाहरुको एक समूहले मन्त्री पण्डितलाई कार्यक्रमस्थलबाटै धपाएका हुन् ।
आज बिहानै आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको १९ औं सञ्चालक परिषदको बैठक डाकिएको थियो । मन्त्री पण्डित सो बैठकको अध्यक्षता गर्नका लागि कार्यक्रमस्थलमा पुगेका थिए ।
भित्र बैठक चलिरहेका बेला बाहिर केही युवाहरु कालोझण्डा लिएर प्रदर्शनमा उत्रिए । लालबाबु पण्डित राजीनामा दे, लोकसेवाको विज्ञापन खारेज गर् लगायतका नारा लगाउँदै ती युवाहरुले बैठकस्थलभित्रै प्रवेश गरेर होहल्ला गर्न थाले ।
प्रत्यक्षदर्शीका अनुसार बैठकसमेत भाँडिएर स्थिति नियन्त्रण बाहिर जान थालेपछि अंगरक्षकले मन्त्री पण्डितलाई भीडबाट सकुशल जोगाएर गाडी चढाई मन्त्री क्वार्टरतर्फ लगे ।








