देशैभर भारी बर्षाः बाढी पहिरोमा परेर ५ जनाको मृत्यु



काठमाडौं । लगातार परेको अविरल बर्षाका कारण देशैभरको जनजीवन प्रभावित भएको छ । बिहीबार रातिदेखि मुलुकका विभिन्न स्थानमा परेको भारी बर्षाले अहिलेसम्म विभिन्न ठाउँमा ५ जनाले जनाले ज्यान गुमाएका छन् । बर्षाका कारण बनेपा–३, नालामा भूकम्प पीडितको घरमाथि पहिरो खस्दा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएको प्रहरी प्रधान कार्यालय, नक्सालले जनाएको छ । मृत्यु हुनेमा ५५ वर्षीया गोमा दंगाल र ७ वर्षीय सोहनी दंगाल रहेका छन् ।
घटनामा बुहारी ३० वर्षीया शुशिला र तीन महिने नातिनी अनुश्का घाइते छन् ।

रामेछापमा पनि पहिरोले पुरिएर रामपुरकी ४५ वर्षीया पदमकुमारी सुनुवारको मृत्यु भएको छ । अर्का एक जना घाइते छन् ।

भोजपुरमा पनि पानीको भेल घरभित्र पस्दा भत्किएको पर्खालले लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रामप्रसाद राई गाउँपालिका–७, बासिखोराका ६६ वर्षीय जगतबहादुर राई छन् ।

टेम्केमैयुङ गाउँपालिका–९, लेखर्कका १४ वर्षीय बालक जनक विकको पनि शौच गर्ने क्रममा पहिरोले चर्पीसहित पुरिएर घटनास्थलमै मृत्यु भएको स्थानीय अनिल कुमार राईले बताए ।
केही दिनयता परेको वर्षाले बाढी र पहिरो जान थालेको छ। देशभरका विभिन्न स्थानमा पहिरो गएको छ भने नदीहरूमा बाढी आएको छ।

यस्तै, मोरङका बाढीले बगाएर एक युवक वेपत्ता भएका छन भने महिलाको उद्धार गरिएको छ। खोलामा दाउरा खोज्दा बगेकी महिलालाई प्रहरी र स्थानीय बासिन्दाले उद्धार गरेका छन्।

रंगेलीमा गेउरिया खोलाले डाईभर्सन बगाएपछि सडक अवरुद्ध भएको छ। डाईभर्सन बगाउदा मोटरसाइकलमा सवार एक युवक वेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। अन्दाजी ३० वर्षीय युवकको पहिचान खुलेको छैन, उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

यस्तै, वर्षाका कारण सिद्धिचरण राजमार्ग दुई दिनदेखि अवरुद्ध भएको छ। ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिकामा पर्ने भँडारे खोलामा आएको बाढीका कारण राजमार्गमा सवारी आवागमन ठप्प भएको हो।

यसैगरी, हेटौँडा कुलेखानी सिस्नेरी दक्षिणकाली हुँदै काठमाडौँ जाने सडक अवरुद्ध भएको छ। इन्द्रसरोवर गाउँपालिका–२ र ३ को विभिन्न ठाउँमा पहिरो गएको छ भने वडा नं ३ को ज्यामिरेमा दुई सय मिटरसम्म सडक पहिरोले पुरिएको छ। पहिरो पन्छाउन केही दिन लाग्ने सिस्नेरी प्रहरी चौकीले जानकारी दिएको छ।

वर्षाका कारण गुल्मीको रुद्रवेणी–वामीटक्सार सडकखण्ड पनि अवरुद्ध भएको छ। गुल्मीको सत्यती गाउँपालिकाअन्तर्गत बादरेपैह्रो, लुम्दीखोला र उल्र्लीखोलास्थित डहरेखोलामा पहिरो खसेपछि गए रातिदेखि सडक अवरुद्ध बनेको गाउँपालिकाका अध्यक्ष पारिश्वर ढकालले बताए।

त्यस्तै, पहिरो खसेपछि विपी राजमार्ग र मध्यपहाडी लोकमार्ग अवरुद्ध भएका छन्। गोलन्जोर र सुनकोशी गाउँपालिकामा विपी राजमार्ग अवरुद्ध भएको छ।

गए राति गोलन्जोर गाउँपालिका–५ को सोलाभञ्याङ र खनियाखर्कको बीचमा सडकमा माथिबाट पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले बताए।

यसैगरी, सुनकोशी गाउँपालिका–१ कमरेमा पनि पहिरोका कारण विपी राजमार्ग अवरुद्ध भएको उनले बताए।

प्रकाशित मिति : असार २७, २०७६ शुक्रबार  ८ : ३४ बजे