काठमाडौं – सरकारविरुद्ध चरणवद्ध आन्दोलनमा उत्रिएको नेपाल विद्यार्थी संघले शुक्रबार अविरल वर्षामा पनि प्रदर्शन गरेको छ । नेविसंघले आन्दोलनको पूर्व निर्धारित कार्यतालिका बमोजिम आज माइतिघर मण्डलामा प्रदर्शन गरेको हो । नेविसंघका नेता, कार्यकर्ताले सरकार विरुद्ध नाराबाजी गरेका हुन् ।
नेविसंघ निवर्तमान महामन्त्री कुन्दन राज काफ्लेको नेतृत्वमा भेला भएका विद्यार्थीहरुले झरिको पर्वाह नगरी सरकारको विरुद्ध प्रदर्शन गरेका हुन् । ‘विषादी हामीलाई चाहिँदैन जनता मार्न पाइँदैन’ जस्ता नारा लगाउदैँ नेविसंघका नेता कार्यकर्ता आन्दोलनमा उत्रिएका हुन् ।
सरकारले चालेको गलत कदमको विरुद्ध सडकमा उत्रिने नेविसंघको यो नाराबाजी भने अन्य प्रदर्शन भन्दा पृथक रहेको छ । कसैले छाता त कसैले रेनकोट ओडेर सरकारको बिरोध गरिरहेका देखिन्थे ।
नेवि संघ निवर्तमान केन्द्रीय सदस्य रत्नहरी ढुङ्गेलले भने, ‘हामीलाई न झरीको पर्वाह छ न त विदेशिको ईसारामा चल्ने ओली सरकारको नै, हाम्रो सरोकार तीन करोड नेपालीको स्वास्थ्य हो ।’
विदेशबाट आयात गरिने फलफुल तरकारीको विषादी परीक्षण नगर्ने सरकारी निर्णय आपत्तिजनक रहेको भन्दै नेविसंघ निरन्तर आन्दोलनमा छ । शनिबारबाट नयाँ ढंगले दोस्रो चरणको आन्दोलन थाल्ने नेविसंघ नेत ढुंगेलले बताए ।