विपद् व्यवस्थापनका नाममा आईएनजीओको मस्ती, ५ बर्षमा २५ अर्ब बढी झ्वाम् !



काठमाडौं असार, ३०– विपद् व्यवस्थापनका नाममा विभिन्न अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ) हरूले विगत पाँच वर्षमा २५ अर्बभन्दा बढी खर्च गरेको भए पनि विपद्को जोखिम भने घट्नुको साटो बढ्दै जान थालेको छ । राजधानी दैनिकले समाचार छापेको छ ।

गैससले गर्ने खर्चको प्रभावकारी रूपमा अनुगमन हुन नसक्दा विपद्को नाममा भएको त्यति ठूलो खर्चको उपलब्धि न्यून देखिएको हो । आईएनजीओहरूले विपद् व्यवस्थापनका लागि भन्दै बर्सेनि औसत ५ अर्ब रुपैयाँ खर्च गरे पनि सरकारले सो खर्चको पारदर्शिताबारेसमेत कुनै अनुगमन गर्न सकेको छैन ।

गृह मन्त्रालयको राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रका अनुसार विपद् व्यवस्थापनका नाममा विभिन्न १४३ वटा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले मुलुकका विभिन्न जिल्लामा काम गरिरहेका छन् ।

तर, उनीहरूको काम कागजमा बढी र फिल्डमा अत्यन्तै कम देखिने गरेको केन्द्रका उपसचिव वेदनिधि खनालले जानकारी दिए । उपसचिव खनालले आईएनजीओले विपद् व्यवस्थापनको नाममा अर्बौं रुपैयाँ खर्चे पनि त्यसको प्रभावकारिता कहाँ छ भनेर खोज्नुपर्ने बेला आएको बताए । ‘अब विपद्को नाममा आईएनजीओहरूले गर्ने खर्चको सशक्त अनुगमन जरुरी भएको छ,’ उपसचिव खनालले राजधानीसँग भने ।

गृह मन्त्रालयका अनुसार पछिल्लो साढे दुई वर्षमा मात्रै अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाबाट विपद् व्यवस्थापनका नाममा १२ अर्ब ८१ करोड रुपैयाँ खर्च भएको छ भने अन्य गैरसरकारी क्षेत्र र संयुक्त राष्ट्रसंघीय निकायबाट १२ करोड १० लाख रुपैयाँ खर्च भएको छ ।

यसैगरी नेपाल रेडक्रस सोसाइटीले पनि अघिल्लो दुई वर्षको अवधिमा विपद् व्यवस्थापनका नाममा २ अर्ब ४६ करोड ८० लाख रुपैयाँ खर्च भएको गृह मन्त्रालयले जनाएको छ ।

ती संस्थाले विपद्का लागि काम गर्दा गृह मन्त्रालयसँग खासै समन्वय गर्ने गरेका छैनन् । ‘आईएनजीओहरू सरकारभन्दा ठूलो हुँ भन्ने घमण्ड गर्छन्, हामीसँग कुनै समन्वय नै गर्न चाहँदैनन्,’ गृहका एक अधिकारीले भने ।

अधिकांश संस्थाले खर्च विवरणसमेत गोप्य राख्ने गरेका छन् । अनुगमन गर्ने मुख्य निकायका रूपमा रहेको महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र समाज कल्याण परिषद् समेतले कुनै अनुगमन गर्न सकेका छैनन् ।

प्रकाशित मिति : असार ३०, २०७६ सोमबार  २ : २७ बजे