विद्युत प्राधिकरणमा ठुलो मात्रामा कर्मचारी हेरफेर, युनियनको आडमा कब्जा जमाउनेलाई तनाव



काठमाडौं । नेपाल विद्युत प्राधिकरणमा कार्यकारी निर्देशक कुलमान घिसिङले अर्को एक्सन लिएका छन । लामो समय युनियनहरूको आडमा प्राधिकरणभित्र अड्डा जमाएर बसेका विभिन्न तहमा कार्यरत १ सय ८५ कर्मचारीको घिसिङले सरुवा गरेका हुन् ।

स्रोतका अनुसार हालै कुलमानको पहलमा प्राधिकरण सञ्चालक समितिको बैठक बसेको थियो । सोही बैठकमा घिसिङले १ देखि ९ तहमा कार्यरत कर्मचारीको सरुवा तथा काज फिर्ताको प्रस्ताव लगेका थिए । उक्त प्रस्ताव पाश भएको छ ।

एउटै कार्यालयमा तोकिएको अवधि पूरा भएर केन्द्रीय तथा क्षेत्रीय कार्यालय, वितरण केन्द्र र जलविद्युत आयोजनामा ठुलो मात्रामा कर्मचारीहरू बस्दै आएका थिए । उनीहरूको सरुवासँगै जिम्मेवारी हेरफेर गरिएको प्राधिकरण प्रशासन निर्देशनालय स्रोतले बतायो ।

सरूवा अनुसार बुटवल क्षेत्रीय कार्यालयमा कार्यरत उप–प्रबन्धक लुनार श्रेष्ठलाई ग्रिड सञ्चालन विभाग प्राविधक महाशाखा प्रमुखको जिम्मेवारी तोकेर सरुवा गरिएको छ । कम्प्युटर बिलिङ तथा नेटवर्क महाशामा कार्यरत सहायक प्रबन्धक अर्चना राजभण्डारीलाई सूचना प्रविधि विभागमा सरुवा गरिएको छ ।

लेखा अधिकृत, मिना बास्तोला, इन्जिनियरहरु बिमलेन्द्र महतो, विजयकुमार गुप्ता, र दुर्गालक्ष्मी हाडाको पनि सरुवा भएको छ । बास्तोलालाई केन्द्रीय लेखा महाशाखाबाट वितरण तथा ग्राहक सेवा निर्देशनालयको अर्थ महाशाखामा जिम्मेवारी तोकिएको छ । महतो, गुप्ता र हाडालाई क्रमशः आयोजना व्यवस्थापन निर्देशनालय, जनकपुर क्षेत्रीय कार्यालय र सूचना प्रविधि विभागमा खटाइएको छ ।

यसअघि महतो जनकपुर क्षेत्रीय कार्यालय, गुप्ता उत्पादन विकास विभाग र हाडा तालिम केन्द्रको जिम्मेवारीमा थिए । महतो र गुप्ता सिभिल इन्जिनियर हुन् भने हाडा कम्प्युटर इन्जिनियर हुन् । जिम्मेवारी हेरफेर भएका ६० जना देशभरका प्राधिकरण कार्यलयमा कार्यरत ५ तहका कर्मचारी हुन् । ४ तहका ७४ जना र ३ तहका ३० कर्मचारीको जिम्मेवारी हेरफेर गरिएको छ ।

कार्यलय सहयोग स्तरका २ तहका १९ र १ तहका ४ जनाको पनि सरुवा गरिएको प्राधिकरणले जनाएको छ । यसअघि गत जेठ मसान्तमा एकै पटक १६ सय कर्मचारी सरुवा भएका थिए ।

प्रकाशित मिति : श्रावण ३, २०७६ शुक्रबार  ८ : ०५ बजे