भागबन्डा मिलेपछि नेकपाका नेताको कार्यविभाजन



काठमाडौं साउन, ६–
पार्टी एकताको १५ महिनापछि सत्तारुढ दल नेकपाले २ सय ३५ नेताको कार्यविभाजन गरेको छ। अन्नपूर्ण पोस्ट दैनिकले खबर छापेको छ ।

भूगोलका ७७ र महानगरपालिकाका ६ गरी ८३ जिल्ला इन्चार्जरसहइन्चार्जमा केन्द्रीय सदस्यले जिम्मेवारी पाएका हुन्। नेकपाको विधानले महानगरपालिकामा रहने पार्टी कमिटीलाई पनि जिल्लासरह मान्यता दिएको छ।

तत्कालीन एमाले र माओवादीबीच २०७५ जेठ ३ मा पार्टी एकता भएको थियो। त्यसयता केन्द्रीय समितिकै नेताले पार्टी जिम्मेवारी पाएका थिएनन्। उनीहरू ‘बेरोजगार’ थिए। केन्द्रीय समिति ४४१ सदस्यीय छ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको सचिवालय बैठकले जिल्ला इन्चार्ज÷सहइन्चार्जको जिम्मेवारी तोकेको हो। उक्त पार्टीले अझै केन्द्रीय विभाग, आयोग, सल्लाहकार परिषद् र ज्येष्ठ कम्युनिस्ट मञ्चलगायत कमिटी गठन गरेको छैन। आइतबारकै बैैठकले एकता प्रक्रियाका बाँकी काम टुंग्याउने भनिएको थियो।

मुख्य विभागहरूको नेतृत्वमा तत्कालीन दुवै पार्टीका जिम्मेवार नेताले दाबी नछोडेका कारण निर्णय लिन सकस परेको हो। पार्टी स्कुलिङ विभागमा नेताहरू नारायणकाजी श्रेष्ठ र ईश्वर पोखरेलको दाबी छ। संगठन विभागमा वामदेव गौतम, विदेश विभागमा माधवकुमार नेपाललाई जिम्मेवारी दिन सहमतिजस्तै बनेको छ।

आइतबार भूगोलका ७७ जिल्लामध्ये पूर्वएमालेकाले ४१ र पूर्वमाओवादीकाले ३६ जिल्लामा इन्चार्ज पाएका छन्। यो कुल प्रतिशतका हिसाबले क्रमशः ५३.२४ र ४६.७५ प्रतिशत भागबन्डा हो। ६ महानगरमध्ये पूर्वएमालेले ४ र माओवादीले २ इन्चार्जको जिम्मेवारी पाएका छन्।

भूगोलका ७७ र महानगरका ६ गरी ८३ जिल्लामध्ये प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी ओली पक्षका २३ जिल्ला इन्चार्ज, ४० सहइन्चार्ज, अर्का अध्यक्ष पुष्पकमल दाहालका २९ जिल्ला इन्चार्ज, ४५ सहइन्चार्ज, वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका १९ जिल्ला इन्चार्ज, ४१ सहइन्चार्ज, गृहमन्त्रीसमेत रहेका रामबहादुर थापा पक्षका ७ जिल्ला इन्चार्ज, १४ सहइन्चार्ज, वामदेव गौतम पक्षका ३ जिल्ला इन्चार्ज, ३ सहइन्चार्ज र प्रवक्ता नारायणकाजी श्रेष्ठ पक्षका २ जिल्ला इन्चार्ज, ९ सहइन्चार्ज छन्।

पर्सा, उदयपुर, मुगु, दैलेख, स्याङजा, डोटी र बाजुरा गरी सात जिल्लाको इन्चार्ज–सहइन्चार्ज दुवैमा पूर्वएमाले पक्षका नेताले जिम्मेवारी पाएका छन्। पूर्वमाओवादी पक्षले रोल्पा, सुर्खेत, जुम्ला, अछाम र सोलखुम्बु गरी पाँच जिल्लाको इन्चार्ज÷सहइन्चार्जको जिम्मेवारी पाएको छ।

प्रकाशित मिति : श्रावण ६, २०७६ सोमबार  २ : ०४ बजे