आज खिर दिबस : यस्ता छन खिर खानुका फाइदाहरु



काठ्माण्डौ-

असार १५ मा दहीच्युरा खाएको एक महिनापछि साउन १५ मा सबैलाई खिर खाने चटारोले छुन्छ । परम्परादेखि नै साउन १५ मा खिर खानुपर्छ भन्ने सामाजिक मान्यता नेपाली समाजमा छ ।

कृषि उपजसँग सरोकार राख्ने खिर सम्झँदा नै सबैको जिब्रो रसाइहाल्ने खाद्य पदार्थमा गनिँदै आएको छ । बुधबार मुलुकभर खिर भोजन गरेर साउन १५ मनाइँदै छ । साउन १५ मा खिर खानु सांस्कृतिक मात्रै नभई वैज्ञानिक महìव पनि रहेको हुन्छ ।

आयुर्वेद चिकित्सक डा । अमितमान जोशी भन्छन्, “वर्षात्को समय तथा गर्मी महिना भएकाले शरीरमा दाद, खटिरा र लुतोजस्ता रोगले आक्रमण गर्ने हुनाले रोग प्रतिरोधात्मक शक्ति बढाउनुपर्ने हुन्छ । ’’ उनका अनुसार चामल, दूध, नरिबल, छोकडा, अन्य ड्राई फ्रुट्स र चिनी हालेर खिर बनाउने हाम्रो चलन छ । उनले थपे, “चामलमा कार्बाेहाइड्रेट पाइन्छ । खिरमा हालिने अन्य सामग्रीले भिटामिन र मिनरल्स आपूर्ति गर्छ, त्यसैले थोरै खाएर धेरै पोषण प्राप्त गर्ने खानेकुरा खिर हो । ”

लामो समय स्वास्थ्य यथास्थितिमा राख्नुपर्ने समयमा खिरको सेवन राम्रो मानिन्छ । साउन महिनाभर खिर खानु राम्रो हुने विश्वास पश्चिम नेपालमा छ । नेपाल कृषिप्रधान देश भएको र बहुसङ्ख्यक नेपाली कृषि पेसामा आश्रित भएकाले कृषकले धान रोपेर काम सकेपछि खुसियाली स्वरूप खिर खाने परम्परा विकास भएको संस्कृतिविद् डा । सत्यमोहन जोशीले जानकारी दिए ।गोरखापत्र दैनिकबाट

 

प्रकाशित मिति : श्रावण १५, २०७६ बुधबार  ३ : ११ बजे